कृष्णभीरको पहिरो पन्छाउन ट्र्याक खन्ने काम तीव्र, ५० मिटर पूरा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन ट्र्याक खन्ने काम तीव्र पारिएको छ।

सडक विभागका अनुसार पहिरोबाट सिर्जित समस्या समाधान गर्न घटनास्थलको भित्रपट्टिबाट ट्र्याक निर्माणको काम अघि बढाइएको हो।

विभागले शुक्रबार दिउँसो ३ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार दुवैतर्फबाट गरी हालसम्म करिब ५० मिटर ट्र्याक खन्ने काम सम्पन्न भएको छ। निर्माण गरिएको ट्र्याक भने हाललाई एक्स्काभेटर आवतजावत गर्न मिल्ने प्रारम्भिक ट्र्याक मात्रै रहेको विभागले जनाएको छ।

तोकिएको डिजाइनअनुसार आवश्यक सुरक्षा सावधानी अपनाउँदै पहिरो पन्छाउने र सडकमा यातायात सञ्चालन गराउने कामलाई निरन्तरता दिइएको विभागले जनाएको छ।

राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले सास्ती व्यहोर्दै आएका छन्। ट्र्याक निर्माणसँगै सडक खुलाउने काम अघि बढेकाले यातायात सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।

यही भदौ १४ गते कृष्णभीरमा झन्डै २०० मिटर लम्बाइको सडक भासिएपछि राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी