भासिएको ७ दिनपछि कृष्णभीरमा खुल्यो डाइभर्सन ट्र्याक, ग्राभेल गरेर सवारीसाधन चलाइने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं – सडक भासिएको सात दिनपछि कृष्णभीरमा २५२ मिटर लामो डाइभर्सन ट्र्याक खोलिएको छ। ट्र्याक राजमार्गसँग जोडिए पनि ग्रेड मिलाउने, वर्षाको पानी व्यवस्थापन गर्ने र भित्ता सुधार गर्ने काम बाँकी रहेकाले तत्कालै सवारी सञ्चालनमा ल्याउन भने नसकिने सडक विभागले जनाएको छ।

सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार बाँकी काम पूरा गर्न करिब एक साता लाग्नेछ। त्यसपछि ट्र्याकमा ग्राभेल बिछ्याएर दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी छ।

‘ट्र्याकले राजमार्ग जोडिएको छ। तर अझै धेरै काम गर्न बाँकी छ,’ जैसीले भने, ‘अहिले निर्माणमा प्रयोग हुने मेसिन आवतजावत गर्न मिल्ने सडक मात्र बनेको हो।’

भासिएको सडकभन्दा १५ मिटर माथिबाट नयाँ ट्र्याक
१० भदौमा भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले नदीतर्फबाट सडक कटान गरेपछि कृष्णभीरमा सडक भासिएको थियो। त्यसपछि पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड अवरुद्ध छ।

जटिल भौगोलिक अवस्था र पुनः बाढी आउन सक्ने जोखिमका कारण नदीतर्फबाट संरचना निर्माण गर्नु जोखिमपूर्ण देखिएपछि भासिएको सडकभन्दा करिब १५ मिटर माथि भित्तो काटेर वैकल्पिक ट्र्याक निर्माण गरिएको हो।

नेपाल जियो टेक्निकल सोसाइटीका इन्जिनियर राजन केसीका अनुसार कृष्णभीरको यो क्षेत्र विगतमा पनि पहिरोको जोखिममा रहँदै आएको थियो।

‘सडक भासिएदेखि नै हामी यहीँ छौं। यो २५/२६ वर्षअघि पनि पहिरो आइरहेको क्षेत्र हो,’ केसीले भने, ‘खोलापट्टिबाट काम गर्न सक्ने अवस्था थिएन। फेरि बाढीको जोखिम रहेकाले भित्तो काटेर ट्र्याक खोल्नु नै उपयुक्त विकल्प देखियो।’

ग्रेड मिलाउने र पानी व्यवस्थापनको काम बाँकी
डाइभर्सन ट्र्याक खुले पनि यसलाई सवारी सञ्चालनका लागि तयार पार्न केही महत्त्वपूर्ण काम बाँकी छन्। अब ट्र्याकको ग्रेड मिलाउने, आकाशबाट पर्ने पानीको उचित निकास व्यवस्थापन गर्ने तथा काटिएको भित्तालाई थप सुरक्षित बनाउने काम गरिनेछ।

ड्रोनमार्फत क्षेत्रको सर्वेक्षण गरी जोखिम न्यूनीकरणका उपायसहित सडक विभागलाई प्रतिवेदन बुझाइएको केसीले बताए। सोही आधारमा बाँकी काम अघि बढाइएको हो।

यसको निर्माण सडक विभागको समन्वयमा नेपाल जियो टेक्निकल सोसाइटीले गरेको हो। ट्र्याक छिटो खोल्न सडक विभागले सोसाइटीसँग समझदारीपत्र (एमओयू) गरेर काम अघि बढाएको थियो। निर्माणको संयोजन इन्जिनियर मन्दिप सुवेदीले गरिरहेका छन्।

तत्काल कालोपत्र होइन, ग्राभेल गरेर सञ्चालन
सडक विभागले नयाँ ट्र्याकमा तत्काल कालोपत्र गर्ने योजना बनाएको छैन। जोखिमयुक्त भूगोल भएकाले अहिले ग्राभेल गरेर सवारी सञ्चालन गर्ने तयारी गरिएको महानिर्देशक जैसीले बताए।

‘जटिल भूगोल छ। सडक विभागले जोखिम लिएर काम गरेको हो,’ जैसीले भने, ‘अहिले खोलातिर कुनै काम गर्दैनौं। भित्तातिरै जोड दिएर काम गर्छौं। भासिएको सडकभन्दा करिब १५ मिटर भित्तातर्फ गएपछि नयाँ ट्र्याक सुरु हुन्छ।’

बाँकी काममा समस्या नआए एक साताभित्र यसै ट्र्याकबाट दुईतर्फी सवारी सञ्चालन गर्न सकिने विभागको अनुमान छ।

अर्को वैकल्पिक ट्र्याकको काम पनि जारी
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हाल सवारीसाधनलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ।

यसैबीच, कृष्णभीरको अर्को पाटोबाट पनि वैकल्पिक सडक खोल्ने काम अघि बढाइएको छ। विभागका अनुसार करिब १.५ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको र त्यसको सम्भाव्यता तथा अवस्थाबारे थप अध्ययन भइरहेको छ।

पृथ्वी राजमार्ग राजधानीको मुख्य आपूर्ति मार्ग भएकाले सडक अवरुद्ध हुँदा काठमाडौंमा दैनिक उपभोग्य वस्तुको नियमित आपूर्तिमा समेत असर परेको छ। विश्व बैंकको सहुलियतपूर्ण ऋणमा स्तरोन्नतिको काम भइरहेको नागढुंगा–मुग्लिन सडक खण्डमा कृष्णभीरको क्षतिले थप चुनौती सिर्जना गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी