बाढी प्रभावित क्षेत्रमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानको राहत वितरण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडाैं, २० भदौ — भोटेकोसी बाढीबाट अति प्रभावित बेत्रावती र उत्तरगयालगायत क्षेत्रका घरबारविहीन परिवारलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरिएको छ। ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानका अभियन्ता गोविन्द चौलागाईंको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रमा पुगी आवश्यक सामग्री वितरण गरेको हो।

राहत वितरणका क्रममा बाढी प्रभावित परिवारको अवस्था अत्यन्तै हृदयविदारक पाइएको अभियन्ता चौलागाईंले बताए। पर्याप्त आश्रयको अभावमा पीडितहरू सामूहिक रूपमा बस्न बाध्य छन्। क्षेत्रमा खानेपानी र विद्युत्को समस्या यथावत् रहनुका साथै बालबालिकाको पठनपाठनसमेत प्रभावित बनेको छ।

बाढीपीडितहरू शारीरिक कष्टका साथै गहिरो मानसिक आघातमा रहेकाले सरकारले तत्काल व्यवस्थित होल्डिङ सेन्टर, स्वास्थ्य सेवा, औषधि तथा मनोसामाजिक परामर्शको प्रबन्ध मिलाउनुपर्ने अभियानको निष्कर्ष छ। त्यसैगरी अस्थायी बसोबासका साथै दीर्घकालीन रूपमा पुनःस्थापना र घर निर्माणको आधार तयार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

श्रीकृष्ण जन्माष्टमीका दिन पीडित परिवारसमक्ष पुगेर सहयोग गर्दा उनीहरूको पीडा नजिकबाट अनुभूति गर्न पाइएको टोलीले जनाएको छ। बेपत्ता आफन्तको खोजीमा रहेका र आफन्त गुमाएर काजकिरियामा बसेका परिवारको स्थितिले सबैलाई भावुक बनाएको सदस्यहरूले बताएका छन्।

विपत्तिको यस घडीमा अभियानले ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानलाई थप व्यापक बनाउने संकल्प गरेको छ। जलवायु परिवर्तन र प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणका लागि प्रत्येक नागरिकले आफ्नो जन्मदिनमा कम्तीमा एउटा वृक्ष रोप्न अभियानले आह्वान गरेको छ।

*‘एउटा जन्मदिन, एउटा वृक्ष र एउटा सकारात्मक सन्देश’*लाई जनअभियानका रूपमा अघि बढाउँदै प्रकृति संरक्षण र विपत्तिमा परेकाहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी