यूएन महासभामा तथ्य र वैज्ञानिक प्रमाणसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेनलाई गगन थापाको सुझाव

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालका मुद्दा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई औपचारिकता र ‘ग्रान्ड शो’मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्।

विदेश भ्रमणको तयारी गर्दा प्रधानमन्त्रीले आफ्नै सचिवालयमा मात्र निर्भर नभई विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता तथा सम्बन्धित क्षेत्रका विशेषज्ञसँग व्यापक परामर्श गर्नुपर्ने थापाको सुझाव छ।

विपद्का प्रमाण देखाएर जलवायु वित्तमा कडा लबिङ गर्न आग्रह

थापाले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या विश्व मञ्चमा सशक्त रूपमा उठाउनुपर्ने बताए। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीलगायतका प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने नेपालले भोग्नुपरेको क्षति वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष लैजानुपर्नेमा उनले जोड दिए।

‘हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ,’ थापाले बैठकमा भने, ‘नेपालले हानि र नोक्सानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ।’

उनले यसअघिका सरकार तथा प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा निर्वाह गरेको भूमिका र उठाएका एजेन्डाको समेत गहिरो अध्ययन गर्न सुझाव दिए।

विगतमा प्रधानमन्त्रीहरूले उठाएका ‘हिमालदेखि महासागरसम्म’का विषय तथा कोप–२८ मा अघि सारिएका जलवायु न्यायसम्बन्धी पहललाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाउनुपर्ने थापाको भनाइ छ।

देशभित्र र बाहिर रहेका दक्ष जनशक्ति तथा विज्ञहरूको परामर्शमा तयारी गरेर गए मात्रै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मुद्दालाई प्रभावकारी रूपमा स्थापित गर्दै ठोस उपलब्धि हासिल गर्न सक्ने उनले स्पष्ट पारे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्