महाधिवेशन प्रक्रिया नरोके कांग्रेस विभाजन हुन्छ : रमेश लेखक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका छन्।

कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै अधिकतम लचकताका साथ अघि बढिरहेको बताए।

विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई हटाइएकै कारण अहिलेको समस्या सिर्जना भएको उनको दाबी छ। विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका दुवै कार्यसमितिलाई समेटेर विवाद समाधान गर्नुपर्ने लेखकको भनाइ छ।

लेखकले सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै १४औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई पुनः समेट्नुपर्ने प्रस्ताव अघि सारेको बताए।

त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने अवस्था आए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत आफूहरूले दिएको लेखकले बताए।

निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत कायम गर्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव आफूहरूको रहेको उनले बताए।

‘हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने।

उनले पार्टी एकता कायम गर्ने सम्भावना अझै बाँकी रहेको दाबी गर्दै महाधिवेशन प्रक्रिया रोक्न आग्रह गरे।

‘अहिले पनि उपाय छ। आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ उनले भने।

लेखकले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतको फैसला कुरेर अघि बढ्नुपर्ने धारणा पनि राखे। आधिकारिकतासम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेकाले अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आएको भन्दै त्यसलाई सम्पूर्ण विवादको समाधानका रूपमा लिन नहुने उनको भनाइ छ।

पार्टी विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशन प्रक्रिया अघि बढाउने पक्षले लिनुपर्ने चेतावनीसमेत लेखकले दिए।

सभापति गगन थापा नेतृत्वको कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने मिति तय गरेको छ। तर संस्थापन इतर समूहले उक्त मिति स्वीकार गर्न नसकिने भन्दै महाधिवेशन मंसिरमा गर्नुपर्ने प्रस्ताव गर्दै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्