काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई ‘नयाँ जागरणको विस्फोट’को रूपमा उल्लेख गरेका छन्।
जेनजी शहीद दिवसको अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध जेनजी पुस्ता सडकमा उत्रिनुपरेको बताएका छन्।
‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो,’ उनले भनेका छन्।
भदौ २३ र २४ गते देशमा भएको घटना फेरि कहिल्यै नदोहोरियोस् भन्दै उनले परिवर्तनका लागि अब कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गरेका छन्। नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाएका सम्पूर्ण सहिदप्रति उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि उनले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
लामिछानेले आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
राजनीतिमा चासो नराख्ने भनिएको युवा पुस्ता सडकमा उत्रिएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकार गरेको उनको भनाइ छ। युवाहरूले सडकबाट उठाएका प्रश्नको जवाफ दिने ठाउँमा अहिले रास्वपा उभिएको उनले बताएका छन्।
‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,’ उनले भनेका छन्।
लामिछानेले युवा, नागरिक समाज र आम जनसमुदायलाई रास्वपाको कार्यसम्पादनमा निरन्तर खबरदारी र निर्मम समीक्षा गर्न आग्रह गरेका छन्। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले जेनजी आन्दोलनले देखाएको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने दृढता व्यक्त गरेका छन्।
‘जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ,’ उनले भनेका छन्।





