५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि बस चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच विवाद भएको खुलेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको वादविवादको भिडियो क्लिपमा चालकले ‘मर्न तयार छु, तर फाइन तिर्दिनँ’ भनेको सुनिन्छ।
त्यसको केही समयपछि रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीमा जलेर बस चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए। उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ।
वादविवादको भिडियोमा चालकलाई ट्राफिक नियम उल्लंघनको आरोपमा ट्राफिक प्रहरीले जरिवानाका लागि चिट काट्न खोजेको देखिन्छ। तर चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको सुनिन्छ।
‘मलाई विनाकसुर फाइन हान्न खोज्छ उहाँहरूले,’ चालकले भनेका छन्।
ड्राइभिङ सिटमा रहेका चालक र सडकमा रहेका ट्राफिक प्रहरीबीच विवाद भइरहेका बेला भिडियोमा सशस्त्र प्रहरीको पोसाक लगाएका तथा सादा पोसाकका व्यक्तिहरू पनि देखिन्छन्। बस सडकको बीच भागमा रोकिँदा यातायात आवागमन प्रभावित भएको भन्दै उनीहरूले बसलाई साइड लगाउन भनिरहेको सुनिन्छ।
त्यही क्रममा चालकले आफूले ट्राफिक प्रहरीलाई ‘रेस्पेक्ट’ गरेको र माफी मागेको तर आफूलाई जरिवाना तिराउन खोजिएको गुनासो गरेका छन्।
जरिवाना तिर्नुपर्ने ट्राफिक प्रहरीको भनाइ र आफूले जरिवाना नतिर्ने चालकको अडानका बीच विवाद थप चर्किँदै गएको भिडियोमा देखिन्छ।
त्यसपछि चालक थप आक्रोशित हुँदै भनेका छन्, ‘हामी काम गर्ने मान्छे हो। म मर्न तयार छु।’
आफ्नो गल्ती नभए पनि आफूले माफी मागेको दोहोर्याउँदै उनले भनेका छन्, ‘मैले यति धेरै रेस्पेक्ट गर्दागर्दै यिनीहरूले लापरवाही गर्ने ! जे गर्न सक्छ गर…।’
त्यसको केही समयपछि बसको पछिल्लो भागबाट आगो दन्किएको भिडियोमा देखिन्छ।
भिडियो





