१७ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरण चर्कंदै गएपछि नख्खू जेलमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सार्न लागिएको छ । सरकारले राणासँग भट्ट र शुलभ अग्रवालको सम्पर्क रहेको, सरकारविरुद्ध गतिविधि गरेको आरोपपछि उनलाई जेल सार्न लागिएको बुझिएको छ ।
यता नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासँग निकट रहेर विभिन्न कार्यमा सहयोग पुर्याएको आरोपमा इनाम सापकोटालाई बुधबार पक्रेर छाडेको छ । गत बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रेपछि उनको मोबाइल चेकजाँच गरिएको, बयानको क्रममा सापकोटाले दिएको तथ्यको आधारमा राणा र हाल जेलमा रहेका व्यवसायी दिपक भट्ट र शुलभ अग्रवालबीच निरन्तर सम्पर्क रहेको भन्ने विषयमा प्रहरी निक्र्यौलमा पुगेको बताइन्छ ।
बुधबार दिउँसो २ बजेतिर नयाँ दिल्ली हुँदै दुबइ जान लागेका सापकोटाले भट्ट र अग्रवालले सबै डिल गरेको तथ्य खुलाएको स्रोतको दाबी छ । बूढानीलकण्ठका इनाम पछिल्लो समय पानीपोखरीस्थित हाउजिंगमा बस्दै आएका छन् ।





