१७ असोज, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५, नयाँबस्तीस्थित ऋतम्भरा बोर्डिङ स्कुलले २०औँ एसियाली खेलकुदमा कास्य पदक विजेता तेक्वान्दो खेलाडी तेन्जिङ शेर्पालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ।
त्यस्तै, बागमती प्रदेशस्तरीय चित्रकला तथा रङ्गरोगन प्रतियोगितामा प्रथम स्थान हासिल गरेका विद्यालयका यूकेजीमा अध्ययनरत विद्यार्थी दोर्जे तामाङलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ।
शनिबार विद्यालयले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनीहरूलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले सम्मान गरेका हुन्।
सम्मानपछि मेयर रिसालले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै तेन्जिङ शेर्पाले २०औँ एसियाली खेलकुदमा कास्य पदक जितेर विद्यालय, गोकर्णेश्वर नगरपालिका र समग्र देशकै गौरव बढाएको बताए। उनले तेन्जिङलाई नगरपालिकाको तर्फबाट समेत सम्मान गरिने जानकारी दिए।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष कमलराज अधिकारीले विद्यार्थीहरूको प्रतिभा, मेहनत र उपलब्धिले विद्यालयसँगै स्थानीय समुदायको समेत गौरव बढाएको बताए। उनले खेलकुद तथा सिर्जनात्मक क्षेत्रमा विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले निरन्तर प्रोत्साहन गर्ने उल्लेख गर्दै सम्मानित दुवैलाई आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रममा नेपाल कराते संघका उपाध्यक्ष देव लामा लगायतको उपस्थिति रहेको थियो।











