कांग्रेसमा लुम्बिनीबाटै सभापति, दुई उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा उम्मेदवार

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ महाधिवेशनबाट पार्टीको प्रभावशाली पदाधिकारी पदमा लुम्बिनी प्रदेशबाट सभापति, दुई उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा उम्मेदवार सार्वजनिक भएर तयारीमा छन् ।

यसका लागि सभापतिमा बर्दियाका किशोरसिंह राठौर, उपसभापतिमा दाङका दीपक गिरी र अर्घाखाँचीका पुष्पा भुसाल, महामन्त्रीमा रोल्पा, हाल बाँकेका अमरसिंह पुन, सहमहामन्त्रीमा योगेन्द्र चौधरी लड्ने तयारीमा छन् । उनीहरुले सामाजिक सन्जालमार्फत उम्मेदारी सार्वजनिक गरी सचिवालयसमेत बनाएर अघि बढेका छन् ।

उनीहरुमध्ये सभापतिमा लड्ने घोषणा गरेका किशोरसिंह राठौर अहिलेसम्म प्रतिनिधि छानिएका छैनन् । उनी पूर्वसहमहामन्त्री हुन् शेरबहादुर देउवा सभापति रहेको समयमा । सभापतिमा धेरै नेताले गगन थापा निर्विरोध हुने बताइरहेका बेला राठौरले आफू सभापतिको उम्मेदवार रहेको घोषणा गरिसकेका हुन् । सभापतिमा अरुको चर्चा देखिदैँन तर अन्य पदमा भने धेरै आकांक्षी देखिएका छन् ।

उपसभापतिमा उम्मेदारी घोषणा गरेका दाङका गिरी पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन् । अर्का उपसभापति भुसाल विशेष महाधिवेशनबाट उपसभापति बनेकी हुन् । पूर्वउपसभामुखसमेत रहेकी उनी यसअघि देउवा समूह छाडेर गगनतिर लागेकी हुन् । त्यसैगरी महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका अमरसिंह पुन अहिले लुम्बिनी प्रदेशका सभापति हुन् । पहिलेबाटै गगन पक्षमा खुलेका उनले सचिवालय नै बनाएर तयारी गरिसकेका छन् ।

सहमहामन्त्रीमा अहिले पनि रहेका योगेन्द्र चौधरी दोहोरिने तयारीमा छन् । पहिले देउवा समूहबाट आएका उनी विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका हुन् ।

महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ । असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँस्थित राष्ट्रियसभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक भएको छ । तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ ।

सभापति घोषणा गरेका राठौरलाई रोक्ने प्रयास कि उनकै कमजोरी
१५ औं महाधिवेशनमा सभापतिको उम्मेदारी घोषणा गरेका किशोरसिंह राठौर अहिलेसम्म प्रतिनिधि नै छानिएका छैनन् । यसअघि निवर्तमान केन्दीय सभापतिका विश्वास पात्रका रुपमा रहेका राठौर अहिले सभापति गगन थापाको पक्षमा खुलेका छन् । उनको सदस्यता रहेको बर्दियाको क्षेत्र नं २ मा आइतबार बिहानसम्म प्रतिनिधि छनौट हुन नसकेको हो । पूर्वसहमहामन्त्री रहेका राठौर केही दिनयता जिल्लामै बसेर यसको टुंगो लगाउन खोजे पनि सफल भएका छैनन् । काठमाडौंमा आज महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम भए पनि यहाँबाट प्रतिनिधि नै टुंगो नलागेपछि नेताकार्यकर्ता आक्रोशित बनेका छन् ।

पार्टीका नेताहरुले निर्वाचन समितिले निर्णय लिन नसकेर असक्षम भएको आरोप लगाएका छन् भने निर्वाचन समितिले असुरक्षा भएका कारण गर्न नसकिएको आरोप लगाएको छ । त्यसो त सोही क्षेत्रबाट केन्द्रीय सदस्य रहेका डा. गोपाल दहित पनि यही विवादका कारण समस्यामा परेका छन् ।

कांग्रेस बर्दियाका सभापति अरुणसिंह राठौरले निर्वाचन समितिको असक्षमताका कारण अनिर्णयको बन्दी बन्नुपरेको आरोप लगाए । नेपाल प्रेससँग कुरा गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने र समयमा कुनै निर्णय लिन नसक्ने भएकाले ढिलाई भएको र अहिलेसम्म रोकिएको बताए । ‘केन्द्रले दिएको जिम्मेवारी पूरा गरेर निर्वाचन समितिले टुंगाउने कुरा हो नि, समिति नै असक्षम, भयो, लाचार भयो, समितिले कुनै सेडुअल निकाल्न सकेको छैन, नियमित सम्पर्कमा आउन सकेको छैन,’ उनले भने ।

उता निर्वाचन समितिले भने असुरक्षाका कारण प्रतिनिधि छनौटको निर्वाचन टुंगाउन नसकेको पार्टीलाई रिपोर्टिङ गरेको छ तर समितिले कुनै विषय सार्वजनिक नगरी बसेको छ । बर्दियाको क्षेत्र नं १ मा देउवा समूहका प्रभावशाली नेता संजय गौतम छन् जहाँ प्रतिनिधि टुंगो लागिसकेको छ । तर गौतम सहभागी भएनन् । बर्दियामा देउवा पक्षले पार्टी सचिव रहेका जग्गाप्रसाद पाण्डेलाई संयोजक बनाएर वडाअधिवेशन गरेको छ ।

कांग्रेस लुम्बिनीका सहमहामन्त्री निमा गिरीले कुनै क्षेत्रको प्रतिनिधि रोकिएर महाधिवेशन नरोकिने बताइन् । ‘बर्दिया २ को प्रतिनिधि छनौट विवादका कारणले रोकिएको छ, हामीले निरन्तर समन्वय गरिरहेका छौं, त्यहाँ अग्रज नेता किशोरसिंह राठौर, नेता डा. गोपाल दहित, रामचन्द्र थापासहितका नेताहरु रोकिनुभएको छ, राठौर त सभापतिकै उम्मेदवारका रुपमा रहनुभएको छ,’ उनले भनिन्, ‘कुनै क्षेत्रको प्रतिनिधि टुंगो नलागेपनि महाधिवेशनको मिति यथावत रहन्छ, यसअघि पनि केही क्षेत्रमा यस्तो समस्या हुने गरेका थिए, क्रियाशील सदस्यकै विवाद हो ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी