‘म पनि कांग्रेस हुन्थेँ होला’ : रवि लामिछाने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका राम्रा र कमजोरी भएका विषयहरूबारे चर्चा गरेका छन् ।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसका आन्तरिक विषयसमेत उल्लेख गरे ।

कांग्रेसले भौतिक पूँजी भएकाहरूलाई महत्व नदिएको भए आफू पनि ‘कांग्रेस हुन्थेँ होला’ भन्दै उनले कांग्रेसको आन्तरिक विषय स्मरण गरे ।

उनले भने, ‘म पनि कांग्रेस हुन्थेँ होला, यदि कांग्रेसले पार्टीमा निष्ठालाई पूँजी मान्नेहरूलाई महत्व दिएको भए, न कि भौतिक पूँजी भएकाहरूलाई महत्व नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला । यदि कांग्रेसले दूरदराजको पिछडिएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबैभन्दा अगाडि र सबैभन्दा अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला । आज ५० वर्षको सभापति पाउँदा गौरवको महसुस गर्नुभएको छ । ४० वर्षमै सभापति बन्ने प्रेरणा दिँदा लिएको भए म पनि कांग्रेस हुन्थेँ होला । र, म पनि कांग्रेस हुन्थेँ होला, यदि कांग्रेसले आफ्नो लहलहाउँदो रुखलाई छाडेर अन्तै भोट हाल्न उर्दी जारी नगरेको भए । तर केही छैन । मुलुकको जिम्मेवारी मिलेरै अघि लैजाने हो ।’

लामिछानेले सबैलाई समानुपातिक र समावेशी प्रतिनिधित्वको विषयलाई ख्याल गर्न आवश्यक रहेको बताए । राष्ट्रियता र राष्ट्रिय मुद्दाका विषयमा राजनीतिक दलहरू एकै भएर अगाडि बढ्नुपर्ने र बढ्ने प्रतिबद्धता पनि उनले जनाए ।

उनले भने, ‘जब मुलुकको कुरा हुन्छ । जब संविधानको कुरा हुन्छ । जब संघीय लोकतान्त्रिक गणतन्त्रको कुरा आउँछ । जब जनजीविकाको कुरा आउँछ । त्यतिखेर पार्टी फरक हुँदैन, झण्डा फरक हुँदैन । नारा फरक हुँदैन । एउटै कुरा हुन्छ, मुलुक, मुलुक र मुलुक ।’

यही कुरालाई आत्मसात् गर्दै आफू कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा उभिएको लामिछानेले बताए ।

लामिछानेले मधेशको छोरोलाई प्रधानमन्त्री बनाएर आएको पनि बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी