‘जुन दिनसम्म प्रधानमन्त्री संसद्मा उपस्थित हुनुहुन्न, त्यो दिनसम्म संसद् बन्द नै मानिनेछ’ : गगन थापा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा लोकतान्त्रिक अभ्यासका लागि हरेक क्षेत्रमा खुला मञ्चको आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार भृकुटीमण्डपको खुला मञ्चमा सम्बोधन गर्दै सभापति थापाले खुला मञ्च केवल एउटा स्थान मात्र नभई राजनीतिक स्मृतिको साझा अभिलेख र बहसको थलो भएको बताए ।

संसद्मा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको उपस्थितिलाई लिएर सभापति थापाले भने, ‘खुला मञ्च त संसद्मा चाहिएको छ, तर दुर्भाग्य अहिले संसद् खुला छैन, बन्द छ । जुन दिनसम्म प्रधानमन्त्री संसद्मा सम्मानपूर्वक उपस्थित हुनुहुन्न, त्यो दिनसम्म संसद् खुला छैन, बन्द नै मानिनेछ ।’

उनले संसद्लाई जीवन्त र खुला बहसको थलो बनाउनुपर्नेमा जोड दिए ।

कांग्रेसको इतिहासमा खुला मञ्चले ठूला–ठूला सङ्कल्प पूरा गर्न सिकाएको बताउँदै थापाले १५औँ महाधिवेशनबाट पनि पार्टीले नयाँ सङ्कल्प पूरा गर्नुपर्ने बताए ।

उनले भने, ‘यो मतभेदलाई साझा मञ्चमा राख्ने थलो हो । देश र नागरिकका बीचमा संवादको खुला मञ्च चाहिएको छ ।’

सभापति थापाले बदलिँदो प्रविधिसँगै सामाजिक सञ्जाललाई गालीगलौजको थलो नभई तथ्य र तर्कपूर्ण बहस गर्ने खुला मञ्चका रूपमा विकास गर्नुपर्ने बताए ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रबारे चर्चा गर्दै उनले भने, ‘पार्टीभित्र नेतृत्वमाथि प्रश्न गर्दा कारबाही हुने होइन, प्रश्नलाई स्वागत गर्ने खुला मञ्च चाहिएको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी