सरकार असफल भइसक्यो, कांग्रेस–एमाले सहकार्यको औचित्य अझै बाँकी छ : शंकर पोखरेल

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा नेपाली कांग्रेस र एमालेले सँगै सङ्घर्ष गरेको स्मरण गर्दै दुई पार्टीको सहकार्यबाट लोकतन्त्रको रक्षा गर्दै देशको मुहार परिवर्तन गर्न सकिने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेसको नेतृत्वमा नयाँ पुस्ताको आगमन सकारात्मक भएको बताएका हुन् ।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएको राजनीतिक यात्रामा गगन थापा र आफूहरू एउटै लोकतान्त्रिक आन्दोलनको पक्षमा उभिएको उनले स्मरण गरे । राणा शासन, पञ्चायती व्यवस्था तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध कांग्रेस र एमालेले संयुक्त रूपमा सङ्घर्ष गरेको स्मरण गर्दै महासचिव पोखरेलले आगामी दिनमा पनि लोकतन्त्रको सुदृढीकरणका लागि दुई दलबीच सहकार्य आवश्यक रहेको बताए ।

वर्तमान सरकार राजनीतिक दलहरूसँग पर्याप्त छलफल र सहकार्य नगरी अघि बढिरहेको यथार्थ उनले प्रस्तुत गरे । प्रधानमन्त्रीले संसद् र जनताका आवाज नसुन्ने अवस्था सिर्जना भएको र सरकारको कार्यशैली स्वेच्छाचारी प्रवृत्तितर्फ उन्मुख भएको धारणा महासचिव पोखरेलको छ ।

लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा जनताको आवाजलाई स्थापित गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै महासचिव पोखरेलले युवापुस्तालाई निराश हुन नदिन सबै राजनीतिक दलले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए । युवाका सपना र आकांक्षा पूरा गर्न राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

उनले कांग्रेसको १५औँ महाधिवेशनले जनताको भावना र समसामयिक राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास व्यक्त गरेका छन् । महासचिव पोखरेलले वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न असफल भएको बताए ।

देशको राष्ट्रियता इतिहासमै कमजोर अवस्थामा पुगेको भन्दै राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल एकजुट हुनुपर्ने आवश्यकता उनले औल्याएका छन् ।

महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूलाई एकठाउँमा ल्याउने प्रयास गरिरहे पनि सरकार भने राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न असफल भएको धारणा व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्