१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्थानीय तहका जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ।
विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरू महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका छन्।
महाधिवेशन प्रतिनिधिमा नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, गोकर्णेश्वरका मेयर दीपक रिसाल, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, मध्यपुर थिमिका मेयर सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका मेयर जीवन खत्री र रामेछापका मेयर लबश्री न्यौपानेसहित विभिन्न स्थानीय तहका प्रमुखहरू रहेका छन्।
स्थानीय जनप्रतिनिधिहरूले स्थानीय तहका समस्या, विकासका आवश्यकता र जनताका मुद्दालाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याउने बताएका छन्। नीति निर्माणमा स्थानीय तहका आवाज समेट्न आफ्नो सहभागिता महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।
उनीहरूले पार्टीको केन्द्रीय समितिलाई सहयोग गर्दै महाधिवेशनमा सक्रिय भूमिका निर्वाह गर्ने तथा केन्द्रीय समितिमा स्थानीय तहको समेत सहभागिता हुने गरी अघि बढ्ने बताएका छन्।











