देशका पहाडी र हिमाली भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्न सक्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्