गलौँदीमा सडक मर्मत गर्न आज राति ११ बजेदेखि पृथ्वी राजमार्ग बन्द हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदी क्षेत्रमा सडक मर्मतका लागि आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग बन्द हुने भएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले आज सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ स्थित गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले मर्मतसम्भारका लागि सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिएकी छन् ।

गत असोज २३ गते शुक्रबार सडक भासिएपछि उक्त राजमार्ग अवरुद्ध भएको थियो । असोज २४ गते दिनभरको प्रयासपछि सडक खुलाइएको भए पनि थप मर्मतसम्भार गर्नुपर्ने भएकाले आज राति पुनः बन्द गर्न लागिएको हो ।

दसैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आवागमनमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले दसैँका बेला राजमार्ग बन्द हुँदा यातायात व्यवस्थापनमा चुनौती थपिएको बताए ।

‘दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ,’ उनले भने ।

दसैँ मनाउन असोज १७ देखि २५ गतेसम्म काठमाडौँस्थित नयाँबसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी