२८ असोज, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित चामुन्डा माध्यमिक विद्यालयमा शुभकामना आदान–प्रदान, विद्यालय व्यवस्थापन समिति गठन तथा कार्यभार हस्तान्तरण र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विद्यालयका प्रधानाध्यापक गुणाराम आचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक सी. भण्डारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयको विकास, शैक्षिक गुणस्तर सुधार, व्यवस्थापनमा देखिएका चुनौती, समाधानका उपाय तथा आगामी शैक्षिक वर्षका योजनाका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले विद्यालयलाई व्यवस्थित, प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्न शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा समाजसेवी सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यालयको विकास र उन्नतिमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सम्मान गरिएको थियो। २०३५ सालदेखि चामुन्डा माध्यमिक विद्यालयको विकासमा योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्वहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
विद्यालयको शैक्षिक तथा भौतिक विकासमा विगतदेखि योगदान पुर्याउने अग्रजहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूले देखाएको मार्गलाई आत्मसात् गर्दै विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालय केवल पठनपाठन गर्ने संस्था मात्र नभई समाजको शैक्षिक, नैतिक तथा सामाजिक विकासको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यसको समग्र विकासका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए।
त्यसैगरी, आगामी दिनमा विद्यालयको शैक्षिक उपलब्धि वृद्धि, भौतिक पूर्वाधारको विकास, अतिरिक्त क्रियाकलापको विस्तार तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत चर्चा गरिएको थियो।
विद्यालय व्यवस्थापनमा विगतमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानसँगै नयाँ जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले आयोजित कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा उपस्थित अतिथि, पूर्व व्यवस्थापन समिति अध्यक्ष, विद्यालय परिवार तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको निरन्तर प्रगति र शैक्षिक उन्नयनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताइएको थियो।
कार्यक्रमको सञ्चालन उद्धव रायमाझीले गर्नुभएको थियो।




