काठमाडौं । पर्यटक भिसामा नेपाल आएर क्रिश्चियन धर्म प्रचार गरिरहेका २४ जना दक्षिण कोरियाली नागरिकहरुलाई अध्यागमन विभागले जनही ५० हजार रुपैयाँ जरिवाना गराउँदै डिपोट गरेको छ ।
पर्यटन भिसामा नेपाल आएर शंकास्पद बानी व्यवहार र धार्मिक गतिविधिमा संलग्न भएको पाइएपछि उनीहरूलाई निष्कासन गरिएको हो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका-७, मालाती मार्गस्थित सुन्दर डाँडा क्षेत्रमा रहेको नेपाल न्यु कभनेन्ट कलेजको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
वैध भिसा अवधि बाँकी रहेकै अवस्थामा नियन्त्रणमा लिइएका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, मोरङले अनुसन्धान तथा कारबाहीका लागि गत असोज २३ गते अध्यागमन विभागमा बुझाएको थियो ।
अध्यागमन विभागले विद्यमान अध्यागमन कानुन बमोजिम अनुसन्धान गर्दा उनीहरूले भिसाको सर्त उल्लङ्घन गरेको पुष्टि भएपछि असोज २८ गतेको निर्णयानुसार जनही ५० हजार रुपैयाँ जरिवाना गराई भिसा रद्द गरेको छ। साथै, उनीहरूलाई प्रस्थान गरेको मितिले आगामी ३ वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी देशनिकाला गरिएको छ।




