दशैंको ८ दिन बिदामा अस्पतालले कसरी दिनेछन् सेवा ?

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

दसैँमा ८ दिन अस्पतालको ओपीडी बन्द, आकस्मिक सेवा २४ घण्टा सञ्चालन हुने

काठमाडौं । दसैँको रौनक सहरदेखि गाउँसम्म फैलिएको छ। कोही घर फर्किने तयारीमा छन् भने कोही आफन्त र परिवारसँग चाडपर्व मनाउने योजनामा छन्। बजारमा किनमेल र यात्राको चहलपहल बढिरहेका बेला स्वास्थ्यकर्मी भने बिरामीको उपचार र सेवामा खटिने भएका छन्।

सरकारले फूलपाती अर्थात् असोज ३१ गतेदेखि द्वादशीसम्म सार्वजनिक बिदा दिएको छ। शनिबार र आइतबारसमेत बिदा परेकाले सरकारी अस्पतालहरूको नियमित बहिरंग विभाग (ओपीडी) सेवा आठ दिनसम्म प्रभावित हुने भएको छ। यद्यपि, अस्पतालका आकस्मिक सेवा, अन्तरंग सेवा र अन्य अत्यावश्यक उपचार भने सञ्चालनमा रहनेछन्।

सार्वजनिक बिदाका कारण नियमित स्वास्थ्य परीक्षण, चिकित्सकसँगको परामर्श र फलोअपका लागि अस्पताल जाने बिरामी प्रभावित हुन सक्नेछन्। नियमित ओपीडी बन्द हुँदा आकस्मिक कक्षमा बिरामीको चाप बढ्न सक्ने अनुमान गरिएको छ। त्यसलाई ध्यानमा राख्दै अस्पतालहरूले चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई आलोपालो ड्युटीमा खटाउने व्यवस्था मिलाएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सार्वजनिक बिदामा सामान्यतया ओपीडी सेवा सञ्चालन हुँदैन। तर, आकस्मिक सेवा चौबीसै घण्टा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिइएको छ। अस्पतालको आन्तरिक व्यवस्थापन र निर्णयअनुसार केही अस्पतालले बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्न सक्नेछन्।

‘सार्वजनिक बिदामा ओपीडी सेवा सामान्यतया सञ्चालन हुँदैन। तर आकस्मिक सेवामार्फत आवश्यक प्रबन्ध मिलाइएको छ,’ अधिकारीले भने, ‘दसैँको बहानामा बिरामीको उपचार रोक्ने अस्पताललाई कारबाही हुन्छ।’

वीर अस्पतालमा आकस्मिक, आईसीयू र डायलाइसिस सेवा नियमित

वीर अस्पतालले दसैँका बेला आकस्मिक कक्ष, सघन उपचार कक्ष (आईसीयू) र डायलाइसिसलगायतका सेवा नियमित सञ्चालन गर्ने जनाएको छ। अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार ओपीडी र नियमित शल्यक्रिया सेवा मात्रै बन्द हुनेछन्। अन्य अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन्।

नियमित शल्यक्रिया नहुने र बिरामीको चाप कम हुने अनुमानका आधारमा अस्पतालले केही वार्डलाई एकीकृत गरी जनशक्ति व्यवस्थापन गर्ने तयारी गरेको छ। सर्जरी, नाक–कान–घाँटी (ईएनटी), कार्डियोभास्कुलर र ग्यास्ट्रो सर्जरीलगायतका वार्डलाई मर्ज गरेर सञ्चालन गरिने निर्देशक नेपालले बताए।

दसैँभरि सेवा प्रभावित नहोस् भनेर चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको ड्युटी तालिका तयार पारिएको अस्पतालले जनाएको छ। आवश्यकताअनुसार वार्ड र आईसीयूमा जनशक्ति परिचालन गरी बिरामीको उपचारलाई निरन्तरता दिइनेछ।

कान्ति बाल अस्पतालमा पनि अत्यावश्यक सेवा जारी

कान्ति बाल अस्पतालले ओपीडी सेवा बन्द गरे पनि आकस्मिक, अन्तरंग, शल्यक्रिया तथा आईसीयू सेवा नियमित सञ्चालन गर्ने भएको छ। अस्पतालका निर्देशक डा. रामहरि चापागाईंका अनुसार बिरामीको उपचारमा अवरोध नहोस् भनेर विशेषज्ञ चिकित्सकसहितको जनशक्ति व्यवस्थापन गरिएको छ।

अस्पतालको आकस्मिक सेवा २४ घण्टा सञ्चालन हुनेछ। आकस्मिक कक्षमा आउने बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकलाई पालोअनुसार खटाइनेछ। वार्ड र आईसीयूमा भर्ना भएका बालबालिकाको उपचार तथा आवश्यक शल्यक्रियाको व्यवस्था पनि नियमित रहने अस्पतालले जनाएको छ।

ओपीडीबाट उपचार गराइरहेका बिरामीले आवश्यक परे आकस्मिक कक्षबाट सेवा लिन सक्ने निर्देशक चापागाईंले बताए।

डायलाइसिस र गम्भीर बिरामीको उपचार नरोकिने

दसैँका बेला खानपानका कारण हुने स्वास्थ्य समस्या, सवारी दुर्घटनामा घाइते हुने तथा अन्य गम्भीर अवस्थाका बिरामीको उपचार प्रभावित नहोस् भनेर स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। नियमित उपचार गराइरहेका, फलोअपमा आउनुपर्ने र जोखिमपूर्ण अवस्थामा रहेका बिरामीको उपचारलाई पनि निरन्तरता दिनुपर्ने मन्त्रालयले जनाएको छ।

विशेषगरी डायलाइसिस गराइरहेका बिरामीलाई पूर्वनिर्धारित तालिकाअनुसार सेवा उपलब्ध गराउनुपर्ने मन्त्रालयको निर्देशन छ। सार्वजनिक बिदाको कारण गम्भीर बिरामीको उपचार रोकिन नहुने प्रवक्ता अधिकारीले बताए।

एम्बुलेन्स सेवा लिन १०२ नम्बरमा सम्पर्क गर्न सकिने

दसैँका बेला सडक दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राख्ने जनाएको छ। आकस्मिक अवस्थामा तत्काल परिचालन गर्न सकिने गरी व्यवस्था मिलाइएको अधिकारीले बताए।

उनका अनुसार एकीकृत प्रणालीमार्फत एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ। काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा १०२ नम्बरमा सम्पर्क गरेर एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था लागू गरिएको छ। बाँकी क्षेत्रमा पनि यो प्रणाली विस्तार गर्ने मन्त्रालयको योजना छ।

एम्बुलेन्स सेवा प्रभावकारी बनाउन मन्त्रालयले निगरानी गरिरहेको र १०२ प्रणालीमार्फत सञ्चालन हुने एम्बुलेन्सको अवस्थासमेत अनुगमन भइरहेको अधिकारीले बताए।

मन्त्रालयले अस्पतालमा उपचार सेवा लिन समस्या भए सम्बन्धित अस्पतालको सूचना पाटी वा वेबसाइटमा राखिएको सम्पर्क नम्बरमार्फत सहजीकरण लिन सकिने जनाएको छ। अस्पतालहरूले ड्युटीमा रहेका वरिष्ठ चिकित्सक तथा जिम्मेवार कर्मचारीको सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ।

दसैँका समयमा आकस्मिक उपचार, वार्ड सेवा र अन्य अत्यावश्यक स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन भए–नभएको मन्त्रालयले अनुगमन गर्ने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्