काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको शुभकामना दिँदै यस पर्वले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहँदै आएको बताएका छन्। धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण यो पर्व एकता, आत्मीयता र पारिवारिक भेटघाटको सङ्गमका रूपमा स्थापित रहेको उनको भनाइ छ।
ठूलाबडाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले सानालाई माया र ठूलालाई आदर गर्ने नेपाली मौलिक संस्कार झल्काउने उनले उल्लेख गरेका छन्। देशभित्र तथा विदेशबाट घर फर्किएर परिवार र आफन्तसँग भेटघाट गर्ने अवसरका रूपमा पनि दसैँको विशेष महत्त्व रहेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले भूकम्प, कोभिड महामारी तथा विभिन्न सङ्कटबीच पनि नेपालीले आफ्नो रीतिरिवाज र परम्परालाई निरन्तरता दिँदै चाडपर्व मनाउँदै आएको स्मरण गरेका छन्। यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएको विनाशको पीडा ताजै रहेका बेला दसैँ आएको उल्लेख गर्दै उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको बताएका छन्।
दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयका रूपमा व्याख्या गर्दै प्रधानमन्त्री शाहले सबैलाई आफूभित्रका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न प्रेरित गरेका छन्। समाजमा गलत प्रवृत्तिको पराजय र सत्यको मार्गमा अघि बढ्ने प्रेरणा सबैलाई मिलोस् भन्ने उनको कामना छ।
उनले रोजगारी र अन्य बाध्यताका कारण विदेशिनुपर्ने तथा चाडपर्वमा समेत परिवारसँग भेट्न नपाउने नेपालीको पीडाप्रति ध्यानाकर्षण गराएका छन्। आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने उल्लेख गर्दै उनले नागरिकको आर्थिक समृद्धि, सुखद जीविका र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले माता दुर्गाभवानीको कृपाले सबैलाई सत्य र सुशासनको बाटोमा अघि बढ्ने प्रेरणा मिलोस् भन्दै सम्पूर्ण नेपालीमा आरोग्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले सभ्य र भव्य रूपमा दसैँ मनाउन पनि सबैमा अपिल गरेका छन्।




