रास्वपा सांसद खगेन्द्र सुनारसंग आफ्नो नाम नजोड्न ओशो तपोवनको आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १ कार्तिक । रास्वपा सांसद खगेन्द्र सुनार र प्रस्तावित राजदूतमा अस्वीकृत गिरीबहादुर सुनारसँग सम्बन्धित प्रकरणमा ओशो तपोवनको नाम जोडिएपछि आफ्नो संस्थाको नाम जोडेर व्यक्तिगत विषय तथा घटनासम्बन्धी समाचार सम्प्रेषण नगर्न तपोवनले आग्रह गरेको छ ।

व्यक्तिगत स्वतन्त्रता,गोपनीयता र संस्थागत मर्यादाको सम्मान गर्न अनुरोध गर्दै तपोवनले ती घटनामा आफ्नो संस्था र ओशोलाई नजोड्न प्रेस विज्ञप्तिमा उल्लेख गरेको हो ।

आरोपित दुबै सुनारको घाँटीमा झुण्डिएको ओशोको लकेट,महिलाहिंसा प्रेरित घटनामा संलग्न भनिएका उनीहरुको चिनजान,भेटघाटलगायत केही गतिविधिमा ओशो तपोवन जोडिएपछि चर्को आलोचना भएको थियो । खगेन्द्र र गिरीबहादुरसम्बद्ध घटनापछि ओशो तपोवनको नामसमेत एकाएक चर्चामा आएको छ । सोही कारण तपोवनले आफ्नो नाम जोडेर व्यक्तिगत विषयलाई संस्थासँग सम्बन्धित गराई समाचार सम्प्रेषण गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

तपोवनका प्रवक्ता निराजन भण्डारीद्वारा जारी विज्ञप्तिमा ध्यान,साधना र आध्यात्मिक सद्भावमा समर्पित संस्थामा आउने ओशो सन्यासी,साधकहरूको व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको सम्मान गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ओशो सन्यासी,साधक तथा प्रेमीहरूको व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको सम्मान गर्दै निजी जीवनमा हस्तक्षेप नगर्न तथा तपोवनसँग जोडेर व्यक्तिगत विषय,व्यवहार वा विवादलाई संस्थासँग जोड्नु उचित हुँदैन ।’

रास्वपाका माननीय खगेन्द्रको ओशो गुरूबाट दीक्षित नाम स्वामी ध्यान आशिष हो भने सउदी अरबका लागि सिफारिस तर नाम अस्वीकृत राजदूत गिरीबहादुर सुनारको ओशो गुरूबाट दीक्षित नाम स्वामी ध्यान आकान्त हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्