काठमाडौँ । बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनीले शनिबार उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
लुम्बिनीले आफ्नो फेसबुक पेजमार्फत शमीम टोलीको आधिकारिक सदस्य बनेको घोषणा गरेको छ । क्लबले लेखेको छ, ‘शमीम हुसेन आधिकारिक रूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ दिने समय आएको छ ।’
बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने शमीम आक्रामक खेलशैली तथा चुस्त फिल्डिङका लागि परिचित छन् । उनले यु–१९ क्रिकेटदेखि नै सफलता हासिल गर्दै आएका छन् । सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आईसीसी यु–१९ विश्वकपको उपाधि जित्दा उनी बङ्गलादेशको टोलीमा थिए ।
यु–१९ विश्वकप जितेपछि उनले राष्ट्रिय टोलीमा समेत स्थान बनाएका थिए । शमीमले सन् २०२१ को जुलाईमा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । सोही वर्ष उनी टी–२० विश्वकप खेल्ने बङ्गलादेशी टोलीमा पनि समावेश भएका थिए ।
उनले सन् २०२३ मा अफगानिस्तानविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा समेत पदार्पण गरेका थिए ।
बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा चटगाउँ च्यालेन्जर्स, रङ्गपुर राइडर्स तथा चटगाउँ किङ्सलगायत टोलीबाट खेलिसकेका शमीमले सन् २०२४–२५ को संस्करणमा चटगाउँ किङ्सबाट ३५२ रन बनाएका थिए ।
उनले हालसम्म विदेशी लिगमा खेलेका छैनन् । एनपीएलमार्फत उनी पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा खेल्ने तयारीमा छन् ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदै छ ।




