काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर सेरफेन रदरफोर्डलाई टोलीमा अनुबन्ध गरेको छ ।
सुदूरपश्चिमले आज सामाजिक सञ्जालमार्फत आधिकारिक घोषणा गर्दै रदरफोर्डलाई यस सिजनका लागि विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याइएको जानकारी दिएको हो ।
बायाँहाते मध्यक्रमका ब्याटर रदरफोर्ड टी–२० क्रिकेटमा निर्भीक तथा आक्रामक ब्याटिङ र उत्कृष्ट फिनिसिङ क्षमताका लागि परिचित छन् ।
२८ वर्षीय रदरफोर्डले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोर, मुम्बई इन्डियन्स र गुजरात टाइटन्सजस्ता टोलीबाट खेलिसकेका छन् । उनीसँग विश्वभरका विभिन्न फ्रेन्चाइज लिगमा खेलेको अनुभवसमेत छ ।
हालैका अन्तर्राष्ट्रिय खेलहरूमा पनि उनले राम्रो लय देखाउँदै ठूला सट प्रहार गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका छन् । उनको आगमनले एनपीएलको तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ पक्षलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।




