काठमाडौँ । नेकपा (एमाले)का प्रभावशाली नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि कडा प्रहार गरेका छन् । भारत भ्रमणका क्रममा डा. वाग्लेले नेपाली राष्ट्रवाद र नेपाल–भारत सम्बन्धका विषयमा दिएको अभिव्यक्तिलाई लिएर उनले चर्को आलोचना गरेका हुन् ।
बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै वाग्लेको अभिव्यक्तिलाई ‘बौद्धिक ज्ञानको टाट पल्टाई’ को संज्ञा दिएका छन् ।
उनले स्टाटसमा लेखेका छन्, ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन् । नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो– त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हित सम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो ।’
हालै भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा डा. वाग्लेले विगतमा नेपालमा ‘भारतको विरोध गर्नु नै राष्ट्रवाद हो’ भन्ने भाष्य बनाइएको र नयाँ पुस्तामा त्यो सोच परिवर्तन भइसकेको धारणा व्यक्त गरेका थिए ।




