काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले दुई तिहाइको सरकारका गतिविधिबारे विभिन्न टिप्पणी भइरहेका बेला आफ्नो पार्टी तमासा हेरेर मात्रै नबस्ने बताएका छन् ।
पार्टीको दुईमहिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालले दुई तिहाइको सरकारले जिम्मेवार ढङ्गले मुलुक सञ्चालन गर्ने, जनताका इच्छा–आकाङ्क्षा पूरा गर्ने तथा देशको स्वाभिमान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै तिनलाई सुदृढ बनाउने अपेक्षा गरिएको बताए ।
‘यो सरकार दुई तिहाइको छ, यसले जिम्मेवार ढङ्गले मुलुक चलाउनेछ । जनताका इच्छा–आकाङ्क्षालाई पूरा गर्नेछ । देशको स्वाभिमानको रक्षा गर्नेछ, लोकतन्त्र र गणतन्त्रलाई जोगाउनेछ, सुदृढ गर्नेछ भन्ने थियो,’ उनले भने, ‘तर अनेकौँ खालका कुरा देखिरहँदा स्वाभाविक रूपमा हामी तमासा हेरेर बस्न सक्दैनौँ ।’
यही कारण पार्टीले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको उनको भनाइ थियो । अभियानका क्रममा जनतामाझ पुगेर उनीहरूका आशा, आकाङ्क्षा र गुनासो सुन्ने तथा त्यसको समीक्षा गर्दै आत्मसमीक्षा गरिने उनले बताए ।
‘यो सबै कुराको बीचमा हामीले सोच्यौँ, अभियान चलाऔँ, जनताका बीचमा जाऔँ । गाउँ, वडा केन्द्रित बनौँ । जनताका भनाइ, आशा–आकाङ्क्षा र गुनासा के–के छन्, ती सबै सुनौँ,’ नेपालले भने ।
उनका अनुसार अभियानलाई प्रभावकारी बनाउन विस्तृत योजना तयार गरिएको छ । बृहत् कार्यकर्ता भेला गरेर बनाइएको योजनामार्फत पार्टीका धारणा र सन्देश जनतामाझ पुर्याइने पनि उनले बताए ।




