८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश गरेका छन् ।
सुनार र एक महिलाबीचमा भएको भनिएको संवादबारे पार्टीको अनुशासन आयोगलाई उनले लिखित इन्कारी पत्र पेश गरेका हुन् ।
अनुशासन आयोगले गठन गरेको छानबिन समितिलाई सुनारले संवादको बोली आफ्नो नभएको दाबी गरेका छन् ।
अनुशासन आयोगका उपप्रमुख एवं छानबिन समिति संयोजक समेत रहेका अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारले इन्कारी लिखित पत्र आएको जानकारी दिए ।
भट्टराईले भने, ‘उहाँले इन्कारी गर्नुभएको छ । त्यो बोली मेरो होइन भन्ने कुराहरू गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा राखेका विषयहरू नै लिखित पत्रमा मोटामोटी आएको छ ।’
सुनारले इन्कार गरेपछि समितिले स्वतन्त्र प्रमाणको खोजी सुरु गरेको छ ।
विवादित अडियो सार्वजनिक भएसँगै सुनारले उक्त अडियो एआई निर्मित भएको दाबी सहितको प्रतिवाद गरेका थिए । प्रहरीमा भएको भ्रष्टाचारको मुद्दा उठाएपछि आफूमाथि निरन्तर प्रहार भइरहेको सुनारको जिकिर छ ।
काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको दाबी गर्दै सामाजिक सञ्जालमा सुनारले लेखेका थिए, ‘सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’
पार्टीबाट गठित छानबिन समितिले अडियो प्रसारण गर्ने जनआस्था पत्रिकासँग सम्पादन हुनु अघिको अडियो लिएको छ । साथै, पीडित भनिएकी महिलाको भनि प्रसारित अन्तर्वार्ताको अडियो प्राप्त गर्न समितिले न्युज २४ लाई पत्राचार गरेको छ । आरोपित सुनारको इन्कारी पत्र र महिलाको अन्तर्वार्तामा राखेका विचारले छानबिनको कार्यलाई जटिलता थपेको समितिले जानकारी गराएको छ ।
‘जनआस्थाको अडियोलाई आन्तरिक रुपमा भेरिफाई गर्ने कार्य गर्छौं । त्यसमा केही जटिलता आयो भने प्राविधिक जाँचका लागि सम्बन्धित निकार्यमा पत्राचार गर्छौं,’ छानबिन समितिका संयोजक भट्टराईले भने, ‘हाम्रो तर्फबाट प्राविधिक जाँच गरिसकेपछि उहाँ (सुनार) लाई सोधपुछ गर्छौं । प्राविधिक जाँचमा समय कति लाग्छ । त्यसमा निर्भर हुन्छ । अन्य हिसाबमा हामी धेरै पर पुगेका छौं । प्राविधिक जाँचलाई हामीले छोट्याउन सक्ने कुरा भएन । अन्यथा, छिट्टै काम सक्छौं ।’
अडियो सार्वजनिक भए लगत्तै रास्वपाले चासो देखाउँदै सांसद सुनारमाथि आन्तरिक छानबिन गर्न पार्टीको अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।
उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको थियो ।




