पर्सा, ९ कात्तिक । पर्साको वीरगन्जबाट प्रहरीले १ हजार ५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ।
वीरगन्ज महानगरपालिका–५ भेडियाहीस्थित एक घरको टहरामा लुकाएर राखिएको अवस्थामा आइतबार दिउँसो प्रहरीले उक्त मदिरा बरामद गरेको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले टहरामा लुकाइछिपाइ राखिएको ७० पोका तयारी घरेलु मदिरा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बरामद मदिरा कानुनी प्रक्रिया पूरा गरी कार्यालयमा ल्याइएको र नष्ट गर्ने प्रक्रियामा राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार अवैध रूपमा घरेलु मदिरा उत्पादन, बिक्री–वितरण तथा ओसारपसार गर्नु गैरकानुनी कार्य हो। मापदण्डविपरीत विभिन्न रसायन प्रयोग गरी उत्पादन गरिने मदिराले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन प्रहरीले आग्रह गरेको छ।
त्यस्तै, अवैध घरेलु मदिरा उत्पादन, बिक्री–वितरण वा ओसारपसार भइरहेको जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।




