एनपीएललाई लक्षित गर्दै काठमाडौं प्रहरीको ७ बुँदे अनुरोध, बेटिङदेखि भीडभाड नगर्न आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै ७ बुँदे अनुरोध जारी गरेको छ।

प्रतियोगितालाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन प्रहरीले सोमबार सूचना जारी गर्दै खेलाडी, दर्शक तथा क्रिकेटप्रेमीलाई विभिन्न विषयमा सचेत रहन आग्रह गरेको हो।

प्रहरीले प्रतियोगिताका क्रममा गैरकानुनी बेटिङ तथा सट्टेबाजी नगर्न, जात, धर्म, लिङ्ग, वर्ण, भूगोल, संस्कृति र परम्परालगायत सबै प्रकारका विविधताको सम्मान गर्न अनुरोध गरेको छ।

त्यस्तै, निषेधित सामग्री रंगशालाभित्र नलैजान, पाकेटमारी तथा चोरीबाट सतर्क रहन र सुरक्षा सजगता अपनाउन प्रहरीले आग्रह गरेको छ। रंगशालामा प्रवेश गर्दा हुने अनिवार्य सुरक्षा जाँचमा सहयोग गर्नसमेत अनुरोध गरिएको छ।

प्रहरीले ट्राफिक नियमको पालना गर्न र आवतजावतका क्रममा सतर्क रहन पनि दर्शकलाई आग्रह गरेको छ।

एनपीएलका खेलका टिकट बिक्री भइसकेको अवस्थामा रंगशालाभित्र प्रवेश गर्न नपाउने भएकाले टिकट सोल्ड आउट भएपछि रंगशालावरपर अनावश्यक भीडभाड नगर्न प्रहरीले विशेष अनुरोध गरेको छ।

एनपीएललाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न प्रहरीको अनुरोध पालना गर्न तथा खेलकुदको मर्यादा कायम राख्न सबै दर्शक र क्रिकेटप्रेमीलाई आग्रह गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी