काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको हो।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी लायन्सका किशोरी महतोले सर्वाधिक चार विकेट लिए। शेर मल्लले तीन विकेट लिँदा शाड्ली भान, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक–एक विकेट हात पारे।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बलको सामना गरे। त्यस्तै, शैफ अली जैबले १४ बलमा १३ रन जोडे।
अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। विनोद भण्डारीले ९, इशान पाण्डेले ७, ब्रान्डन म्याकमुलेनले २ र शेरफन रदरफोर्डले १ रन बनाए। आरिफ शेख, स्कट कुगेलेइन र हेमन्त धामी शून्य रनमा आउट भए।
अब ८८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रने लुम्बिनी लायन्सले प्रतियोगिताको पहिलो खेलमा जित निकाल्ने लक्ष्य राख्नेछ।




