काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४ अंकमा कायम भएको छ। यो परिसूचक साउन ३० गतेयताकै उच्च हो।
आज २४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको मूल्य घटेको छ। तीन कम्पनीको मूल्य भने स्थिर रहेको छ।
सेयर कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ५ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ। यो रकम भदौ ३० गतेयताकै उच्च रहेको छ।
आज जलविद्युत् क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ। जलविद्युत् समूहको सूचक सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ। व्यापार समूहबाहेक सबै समूहगत सूचकमा वृद्धि भएको छ।
व्यापार समूहको सूचक ०.४४ प्रतिशतले घट्दा बैंकिङ १.३६, विकास बैंक १.११, फाइनान्स १.५५, होटल तथा पर्यटन १.३४, लगानी १.५२, जीवन बीमा १.५९, उत्पादन तथा प्रशोधन ०.६६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.४४ र अन्य समूह ०.८५ प्रतिशतले बढेका छन्।
आज बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। बुटवल पावरको १०.६०, सुपर खुदी हाइड्रोपावरको ६.२६, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२, युनियन हाइड्रोपावरको ५.८६, सान्जेनको ५.८१, स्वस्तिक लघुवित्तको ५.६७ र होटल फरेस्ट इनको ५.४१ प्रतिशतले मूल्य बढेको छ।
यसैगरी, सिर्जनशील लघुवित्तको मूल्य २.३०, चिरख्वा हाइड्रोपावरको २.१२ र माथिल्लो मैलुङखोलाको १.९१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी, घलेम्दी हाइड्रोपावर, बुटवल पावर, अपी पावर, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर र कुमारी बैंक अगाडि रहेका छन्।




