जनकपुरधाम । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली प्रहारको घटनापछि मधेस प्रदेश प्रहरीले छानबिन सुरु गरेको छ । घटनामा प्रहरीको भूमिकामाथि समेत प्रश्न उठेपछि प्रदेश प्रहरी कार्यालयले समिति गठन गर्नुका साथै घटनास्थलको सुरक्षा कमान्ड सम्हालेका प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयले घटनाको छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगञ्जका प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन् ।
समितिलाई घटनाको यथाशीघ्र छानबिन गरी सात दिन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । घटनामा गोली चल्नुको कारण, प्रहरीको भूमिका र झडपको अवस्थाबारे समितिले अध्ययन गर्नेछ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रभुप्रसाद ढकालले भने,‘मेरै कमाण्डमा छानबिन समिति गठन भएको छ, छानबिनको काम आजैबाट थाल्ने तयारी गरेका छौँ, सात दिन भित्र प्रतिवेदन बुझाउँछौँ ।’
शनिबार बाराको फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा निर्माण गरिएको १५ शय्याको अस्पताल उद्घाटन कार्यक्रममा झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच जना प्रहरीसमेत घाइते भएका थिए ।
घटनाका क्रममा प्रदर्शनकारीले १० वटा मोटरसाइकलमा आगजनी गरेका थिए भने नवनिर्मित अस्पतालको शिलालेखसमेत तोडफोड गरेका थिए । अस्पताल उद्घाटनको विषयलाई लिएर सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि स्थिति तनावग्रस्त बनेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक सुमन लामालाई पनि जिम्मेवारीबाट हटाइएको छ । लामाले घटनास्थलको सुरक्षा कमान्ड सम्हाल्दै आएका थिए । उनलाई त्यहाँबाट तानिएको मधेस प्रदेश प्रहरी स्रोतले जनाएको छ ।
एक युवक गोली लागेर घाइते हुनु, प्रहरीसमेत घाइते हुनु र सार्वजनिक सम्पत्तिमा क्षति पुग्नुले घटनाको सुरक्षा व्यवस्थापन र प्रहरीको कार्यशैलीबारे बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले समेत प्रश्न उठाएका छन् ।




