काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका राम्रा तथा नराम्रा दुवै कामको जिम्मेवारी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने बताएका छन्।
आइतबार सरकारका गतिविधि तथा समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गर्दै सभापति थापाले रास्वपाका नेता तथा सांसदहरूमाथि प्रश्न उठाएका हुन्।
उनले विगतमा नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेका गलत कामको विरोध गर्दा रास्वपाले कांग्रेसकै नेताहरूले त्यसको जिम्मेवारी लिनुपर्ने तर्क गर्ने गरेको स्मरण गराए। अहिले सरकारका कामकारबाहीप्रति प्रश्न उठ्दा भने रास्वपाले जिम्मेवारीबाट पन्छिन खोजेको उनको भनाइ थियो।
थापाले कांग्रेस–एमालेका हकमा लागू हुने जिम्मेवारीको सिद्धान्त रास्वपाका हकमा पनि लागू हुनुपर्ने बताए।
सरकारले राम्रो काम गर्दा त्यसको श्रेय रास्वपाले लिने तर कमजोरी र गलत कामको जवाफ प्रधानमन्त्रीले मात्रै दिनुपर्ने हो भन्दै उनले प्रश्न गरे।
उनले सरकारका राम्रा कामको जस र नराम्रा कामको अपजस दुवै सत्तारूढ दलका रूपमा रास्वपाले लिनुपर्ने स्पष्ट पारे।




