बालेनलाई राेजाइकाे प्रमुख प्रशासकीय अधिकृत नदिँदा अहिलेको परिस्थिति आयो : उपसभापति भण्डारी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

रुपन्देही । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरपालिकाको मेयर हुँदा तत्कालीन सरकारले आवश्यक कर्मचारी (अधिकृत) उपलब्ध नगराउँदा अहिलेको राजनीतिक परिस्थिति सिर्जना भएको तर्क गरेका छन् ।

तत्कालीन सरकार र राजनीतिक दलहरूले बालेनको आग्रहलाई बेवास्ता गर्दा त्यसको परिणाम अहिले भोग्नुपरेको र यो विषय तत्कालीन समयमै आफूले एमाले–कांग्रेस–माओवादीका शीर्ष नेताहरुलाई सुनाएको बताए ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर–२ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले तत्कालीन समयमा बालेनले आफूलाई अधिकृत पठाइदिन आग्रह गरेको र आफूले शीर्ष नेताहरूसँग समेत कुरा गरेको बताए ।

‘बालेनजी र मेरोबीच नेपालको राजनीतिको बारेमा लामो कुरा भयो । उहाँले मलाई अधिकृत पठाइदिन भन्नुभयो । मैले सबै नेता, मुख्यसचिवदेखि सचिवसम्मलाई भनेँ । केपी ओली र शेरबहादुर दाइलाई पनि भनेँ । तर आफ्नो महत्त्वाकांक्षाले कसैले मानेनन् । आज त्यो कुरा मानेको भए बालेन दोस्रोपटक मेयर उठ्थे,’ उनले भने ।

पद र व्यक्तिगत महत्त्वाकांक्षाका कारण नेतृत्वले आवश्यक निर्णय गर्न नसक्दा त्यसको परिणाम देशले भोग्नुपरेको उनले बताए । ‘पदका सामुन्ने कसैले मानेनन्, जसको प्रतिफल जेनजी आन्दोलन भयो । अब विगतबाट सिकेर मेहनत गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

भण्डारीले अहिलेको सरकारले विगत ३५ वर्षमा केही भएन भन्ने भाष्य निर्माण गर्न नहुने बताए । लोकतान्त्रिक व्यवस्था र पूर्वाधार निर्माणमा विगतका सरकार तथा राजनीतिक दलहरूको योगदान रहेको उल्लेख गर्दै उनले नयाँ नेतृत्वले विगतको योगदानलाई पनि स्वीकार गर्नुपर्ने धारणा राखे ।

‘हामीले बनाएको घरभित्र बालेन आएका हुन् । यो घर बनाउन हजारौँको रगत र बलिदान परेको छ । केपी ओलीले कीर्तिपुरको स्टेडियम बनाउन मिहिनेत गर्नुभयो, त्यसको उद्घाटन बालेनजीले गर्नुभयो । आफूले टुँडिखेलमा लगाएको दुबो मात्रै देख्ने प्रवृत्ति राम्रो होइन,’ उनले भने ।

सामाजिक सञ्जालमा दर्शक र समर्थक बढाएर मात्रै सरकार नचल्ने भन्दै भण्डारीले जनताको काम गरेर जनमत आर्जन गर्नुपर्ने बताए । सरकारलाई काममा केन्द्रित हुन आग्रह गर्दै उनले युवाको ऊर्जा र क्षमतालाई विकासमा प्रयोग गर्नुपर्ने धारणा राखे ।

उनले वर्तमान सरकार पाँच वर्ष चलोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको पनि बताए । सरकारलाई अस्थिर बनाउनेभन्दा पनि आवश्यक सहयोग गरेर काम गर्न दिनुपर्ने उनको भनाइ थियो ।

‘हाम्रो पार्टीले र पार्टी सभापतिले यो सरकार पाँच वर्ष चलोस् भन्ने चाहेका छौँ । हामीले सहयोग गर्छौँ,’ उनले भने, ‘यो देश पाँच–छ वर्षमा समृद्ध बन्न सक्छ । युवालाई नेपालमै राख्ने, सीप र तालिम दिने तथा जनतालाई विकाससँग जोड्ने हो भने सम्भावना धेरै छन् ।’

भण्डारीले सरकारको आलोचना र अनावश्यक विवादमा अल्झिनुभन्दा काम गरेर देखाउनुपर्ने बताए । सरकारका गतिविधिमा गल्ती भएको भए कानुनी प्रक्रियाबाट कारबाही गर्नुपर्ने भन्दै उनले काम रोक्ने गरी आरोप–प्रत्यारोपमा नलाग्न आग्रह गरे ।

‘यदि गगन थापाले वा नेपाली कांग्रेसको कुनै व्यक्तिले कारबाही गर्नुपर्ने काम गरेको छ भने कारबाही गरेर देखाउनुस् । होइन भने काम गर्न छोडेर नचाहिने काम किन गर्दै हिँडेको ? काम गर्नुस् । यत्रो युवा शक्ति छ, यसको प्रयोग गर्नुपर्दैन ?’ उनले प्रश्न गरे ।

विगतमा आफूले राजनीतिक निर्णय गर्दा व्यक्तिको भीड र प्रभावभन्दा क्षमता तथा सम्भावनालाई प्राथमिकता दिएको प्रसंग सुनाउँदै उनले राजनीतिमा योग्य व्यक्तिलाई अवसर दिनुपर्ने बताए ।

त्रिभुवन कलेजमा विद्यार्थीलाई जिम्मेवारी दिने क्रममा आफूले भीडभन्दा शैक्षिक क्षमता हेरेको र त्यसक्रममा डाक्टर बन्न प्रेरित गरेका एक व्यक्ति अहिले शिक्षण अस्पतालमा छाती रोगका विशेषज्ञ बनेको उदाहरण उनले सुनाए ।‘मैले त्यतिबेला छानेका व्यक्ति पार्टीको शीर्ष नेतृत्वमा छन् अबको प्रधानमन्त्री बन्ने लाइनमा छन्, चिकित्सकको सिफारिस गरेका पात्र शिक्षण अस्पतालमा छन्’ उनले भने ।

भण्डारीले पहाड र तराईलाई छुट्याउने प्रयासको पनि विरोध गरे । नेपालको भौगोलिक एकता, प्राकृतिक स्रोत र साधन तथा आर्थिक सम्भावनालाई जोडेर विकास गर्नुपर्ने उनको धारणा थियो । ‘तराईको उत्पादन र पहाडको जलस्रोतले हामीलाई समृद्धितर्फ लैजान सक्छ । नेपालको भूगोल, प्रकृति, स्रोत र साधनलाई छुट्याउनु हुँदैन,’ उनले भने ।

पहाड र तराईलाई अलग गर्ने निर्णय रोक्न तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पुष्पकमल दाहाल र केपी शर्मा ओलीसँग आफूले छलफल गरेको प्रसंग उल्लेख गर्दै उनले राष्ट्रिय एकता र भौगोलिक अखण्डताका विषयमा नेतृत्व गम्भीर हुनुपर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी