ॐ हस्पिटलको ३०औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा डा. हरि किशोर श्रेष्ठ चयन

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२७ कात्तिक काठमाडौं । चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सञ्चालक समितिको अध्यक्षमा डा. हरि किशोर श्रेष्ठ चयन भएका छन्। अस्पतालको ३०औँ वार्षिक साधारण सभाले डा. श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो।

शनिबार काठमाडौँस्थित रमादा होटलमा सम्पन्न साधारण सभाबाट चयन भएका अध्यक्ष डा. श्रेष्ठले हिजो अस्पतालमा आयोजित एक औपचारिक समारोहबीच पदभार ग्रहण गरेका छन्।

नवनिर्वाचित सञ्चालक समितिका अन्य सदस्यहरूमा निवर्तमान अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, सरला रिजाल, डा. गिसुप निख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरि प्रसाद पाठक, विजय मल्ल, बाबुकाजी कार्की र प्रा. डा. जागेश्वर गौतम रहेका छन्।

पदभार ग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष डा. श्रेष्ठले आम नागरिकले अस्पतालप्रति राखेको विश्वासलाई कायम राख्दै स्वास्थ्य सेवालाई थप आधुनिक, गुणस्तरीय र विश्वस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आधुनिक प्रविधिको उच्चतम प्रयोग, दक्ष जनशक्तिको परिचालन र बिरामीमैत्री वातावरणमार्फत सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो मुख्य प्राथमिकता रहने बताएका छन्। साथै, संस्थागत सुशासन र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै अस्पताललाई नयाँ उचाइमा पुर्‍याउने उनको भनाइ थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित सञ्चालक समिति सदस्य डा. आनन्द प्रसाद श्रेष्ठले नयाँ अध्यक्षसहित सम्पूर्ण सञ्चालक समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

आफ्नो कार्यकालमा सहयोग गर्ने शेयरधनी, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै उनले नयाँ नेतृत्वले अस्पतालको सेवा गुणस्तर र संस्थागत विकासमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यस अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ तथा प्रमुख वित्त अधिकृत ध्रुव प्रसाद सुवेदीले नवनिर्वाचित अध्यक्ष र सञ्चालक समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

यसैगरी, अस्पताल कर्मचारी युनियनका संस्थापक संरक्षक केशव प्रसाद चौलागाईं तथा युनियनका अध्यक्षले पनि नयाँ सञ्चालक समितिलाई सफल कार्यकालको शुभकामना दिए। उहाँहरूले व्यवस्थापन र कर्मचारीबीचको सहकार्यले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नयाँ नेतृत्वलाई कर्मचारी परिवारको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

समारोहमा अस्पतालका सञ्चालक, उच्च व्यवस्थापनका अधिकारी तथा कर्मचारी युनियनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा अस्पताल व्यवस्थापनले स्थापनाकालदेखि हालसम्म साथ, सहयोग र विश्वास प्रदान गर्ने शेयरधनी, चिकित्सक, नर्सिङ तथा प्रशासनिक कर्मचारी र सम्पूर्ण सेवाग्राहीप्रति आभार व्यक्त गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्