काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीस्थित एक होमस्टेमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले सञ्चालकसहित ३७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गागलफेदीस्थित ३४ वर्षीय कुमार लामाले सञ्चालन गरेको ‘कुशुम छ्याम्बा हाउस र होम स्टे’ मा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
हिजो अन्दाजी ५ बजे उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले छापा मारेको थियो। प्रहरीले उनीहरूको साथबाट नगद ५ लाख ७८ हजार ५ सय ५५ रुपैयाँ र १६ वटा कौडासमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका ३७ जनामध्ये सञ्चालक कुमार लामासहित ३० जना कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीकै स्थानीय बासिन्दा रहेका छन् ।
पक्राउ परेका सबै जनामाथि जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिए।




