काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताका समस्या र गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यसहित मेची-महाकाली पदयात्रा सुरु गरेका छन्।
आज जनकपुरस्थित जानकी मन्दिर परिसरबाट रास्वपा सभापति रवि लामिछानेले पदयात्राको शुभारम्भ गरेका हुन्। मेची नदीको किनारबाट सुरु हुने यात्रा मकर संक्रान्तिका दिन महाकाली नदीको किनारमा पुगेर सम्पन्न हुने बताए।
पदयात्राको मुख्य उद्देश्य देशको भौगोलिक, जातीय, धार्मिक तथा सामाजिक विविधताबीच राष्ट्रिय एकता बलियो बनाउनु र जनताका वास्तविक समस्या प्रत्यक्ष रूपमा सुन्नु रहेको उनले बताए।
उनले भने, ‘यो देश जोड्ने यात्रा हो, समाज जोड्ने यात्रा हो। जात, धर्म, पहाड, मधेस वा वर्गका नाममा देशमा कुनै पनि द्वन्द्व नहोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको हुँ।’
पदयात्राका क्रममा दैनिक पाँच घण्टा हिँड्ने र सात घण्टा जनताका कुरा सुन्ने योजना बनाएको बताए। यात्राका क्रममा प्रत्येक २० देखि २५ किलोमिटरको दूरीमा पर्ने गाउँमा पुगेर स्थानीय बासिन्दासँग छलफल गर्ने तथा आसपासका बस्तीमा समेत पुगेर उनीहरूका समस्या र सुझाव सङ्कलन गरिने समेत बताए।
मजदुर, किसान, महिला, दलित, मुस्लिम, व्यापारी तथा युवालगायत सबै वर्ग र समुदायका नागरिकका समस्या सुन्ने बताए। विशेषगरी रोजगारी, जनजीविका र स्थानीय तहमा रहेका समस्यालाई प्राथमिकताका साथ सङ्कलन गरिने उनको भनाइ छ।
यात्राका क्रममा सङ्कलित जनताका समस्या र सुझावलाई तीन प्रति तयार पारिने बताए। एउटा प्रति रास्वपा सभापति रवि लामिछानेलाई, अर्को प्रधानमन्त्रीलाई बुझाउने र तेस्रो प्रति आफूले राख्ने र त्यही अनुसार संसद्मा प्रस्तुत हुने बताए।
रास्वपालाई प्राप्त जनमत र जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने भन्दै पार्टीका कमीकमजोरी सुधारेर जनताका समस्या समाधान गर्नुपर्ने बताए।




