काठमाडौँ । इनम सापकोटाको ह्वाट्सएप म्यासेज सार्वजनिक भएपछि इजलासबाट अलग रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयाँल नियमित सुनुवाइमा फर्किएका छन् ।
तिहार तथा छठ बिदापछि मंगलबारदेखि अदालतको कामकारबाही सुरु भएसँगै दुवै न्यायाधीश इजलासमा सहभागी भएका हुन् ।
प्रधानन्यायाधीश शर्मा नवनियुक्त न्यायाधीश डा. रत्नबहादुर बागचन्दसँग संयुक्त इजलासमा बसेका छन् भने न्यायाधीश फुयाँल गोकर्ण डाँगीसँग संयुक्त इजलासमा सहभागी भएको मंगलबार सार्वजनिक सर्वोच्चको कजलिस्टमा देखिएको छ ।
विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइलबाट बरामद ह्वाट्सएप म्यासेजमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालको नाम जोडिएपछि उनीहरूको भूमिकामाथि प्रश्न उठेको थियो । त्यसपछि शर्मा इजलासमा बसेका थिएनन् भने फुयाँल बिदामा बसेका थिए ।
सापकोटाको म्यासेजमा सर्वोच्चका अर्की न्यायाधीश शारंगा सुवेदीको नामसमेत जोडिएको थियो । घटनाबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले समिति गठन गरे पनि त्यसमा सहभागी हुन अधिकांश कानुन व्यवसायीले अस्वीकार गरेका छन् ।




