काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले बेहोरेको राजनीतिक धक्का फागुन २१ को निर्वाचन परिणामबाट मात्रै नभई निर्वाचनअघि नै सरकारबाट अपदस्थ गरिएसँगै सुरु भएको बताएका छन्।
पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपूर्व भएका ध्वंस र आक्रमणका घटनाले एमालेलाई प्रतिरक्षात्मक अवस्थामा पुर्याएको बताएका छन्।
‘हामी सरकारबाट अपदस्थ हुँदाको अवस्थाको विश्लेषण नगरी राजनीति हुँदैन,’ ओलीले भने, ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापन गर्न बनाइएको वातावरण बुझ्नुपर्दछ। त्यति नबुझी राजनीति बुझिँदैन।’
उनले प्राविधिक विषयलाई मात्रै आधार बनाएर आन्तरिक कमजोरीका कारण एमाले सरकारबाट विस्थापित भएको निष्कर्ष निकाल्न नहुने बताए।
सामाजिक सञ्जाल र एल्गोरिदमको प्रयोग गरेर पार्टीलाई जनताबाट टाढा पुर्याइएको दाबी गर्दै ओलीले आफूहरूप्रति घृणा फैलाइएको र अनावश्यक रूपमा सुरक्षा निकायलाई संलग्न गराएर निर्वाचनमा एमालेलाई पराजित गरिएको आरोप लगाए।
मौसमी छिचिमिरासँग कोही पनि डराउन नहुने टिप्पणी गर्दै ओलीले यस्ता प्रवृत्तिविरुद्ध लड्ने र विजय हासिल गर्ने नेतृत्व एमालेले गर्ने बताए।
उनले समाजलाई भ्रम र निराशाबाट मुक्त गर्दै पुनर्जागरणको दिशामा अघि बढाउने अभियानको नेतृत्व पनि एमालेले गर्ने दाबी गरेका छन्।




