रौतहट २ मंसिर। भारतको बिहारस्थित जमुई जिल्लामा डायन (बोक्सी) को आरोप लगाएर एक महिलाको कुटपिट गरी हत्या गरिएको छ। हत्या गरेपछि महिलाको शव यसअघि मृत बालकलाई गाडिएको खाडलमै पुरिएको अवस्थामा फेला परेको छ।
घटना चरकापत्थर थाना क्षेत्रअन्तर्गत पर्ने थम्हन गाउँको हो। घटनामा ५५ वर्षीया दया देवी भन्ने कुसुमको हत्या भएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारीअनुसार गाउँ निवासी स्वर्गीय श्रवण मिस्त्रीका आठ वर्षीय छोरा शिवम कुमारको बिरामी भएपछि उपचारका क्रममा जमुईमा मृत्यु भएको थियो। बालकको शव गाउँ ल्याएर गाउँबाहिर खाडल खनी गाडिएको थियो।
बालकको मृत्युपछि गाउँका केही व्यक्तिले जेना मिस्त्री उर्फ जयनारायण शर्माकी पत्नी दया देवीमाथि जादुटोना गरेको आरोप लगाउन थालेका थिए। दुई वर्षअघि श्रवण मिस्त्रीको मृत्यु भएको र अहिले उनका छोराको पनि मृत्यु भएपछि महिलामाथि बोक्सीको आरोप लगाइएको बताइएको छ।
त्यसपछि बालकका आफन्तसहित गाउँका केही व्यक्तिले दया देवीमाथि बञ्चरो तथा लाठी–डण्डाले आक्रमण गरेका थिए। गम्भीर कुटपिटबाट उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
महिलाको हत्या गरेपछि आरोपितहरूले उनको शवसमेत बालक शिवमलाई गाडिएको त्यही खाडलमा लगेर पुरेको प्रहरीले जनाएको छ।
घटनाबारे सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले खनेर बालक र महिलाको शव बाहिर निकाली पोस्टमार्टमका लागि पठाएको छ।
जमुईका एसडीपीओ राजेश कुमारका अनुसार घटनामा संलग्न रहेको आशंकामा नौ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। मृतकका परिवारको बयानका आधारमा प्राथमिकी दर्ता गरी थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने उनले बताएका छन्।
अन्धविश्वास र बोक्सीको आरोपका नाममा महिलामाथि भएको यस्तो हिंसात्मक घटनाले समाजमा अझै विद्यमान कुप्रथाको भयावह अवस्थालाई उजागर गरेको छ।




