काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
कार्कीको रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।
सरकारले गत कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकमार्फत कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। साथै, एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो।
सरकारको उक्त निर्णय गैरकानुनी रहेको दाबी गर्दै कार्कीले निर्णय बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षकमा बहाली गर्न मागसहित कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्काल अल्पकालीन अन्तरिम आदेश जारी नगरी दुवै पक्षलाई छलफलका लागि मंसिर ७ गते बोलाएको थियो।
सर्वोच्च अदालतले मंसिर ४ गते नवनियुक्त आईजीपी डा. केसीका नाममा म्याद जारी गरेको थियो। तर, प्रहरी प्रधान कार्यालयमा म्याद बुझाउन पुगेका अदालतका तामेलदारलाई सम्बन्धित व्यक्ति बैठकमा गएको भन्दै कार्यालय समयसम्म पर्खाइएको थियो। कार्यालय समय सकिँदासम्म पनि आईजीपी उपस्थित नभएपछि म्याद बुझाउन नसकिएको प्रतिवेदन अदालतमा पेस गरिएको थियो।
सोमबारको सुनुवाइमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ताले प्राविधिक कारणले म्याद बुझ्न नसकिएको भन्दै पुनः म्याद जारी भए बुझ्ने प्रतिबद्धता जनाएका थिए।
त्यसपछि इजलासले प्रहरी प्रधान कार्यालयलाई प्रतिनिधित्व गर्ने अधिवक्तामार्फत नै म्याद बुझाई नियमानुसार पेस गर्न आदेश दिएको थियो। साथै, रिटलाई प्राथमिकता दिँदै आजका लागि पेसी तोकिएको हो।




