काठमाडौं । जोरपाटी इस्कोनको आयोजनामा भगवान् श्रीजगन्नाथको भव्य रथयात्रा सम्पन्न भएको छ। काठमाडौंको चाबहिलबाट सुरु भएको रथयात्रा बौद्ध हुँदै जोरपाटीसम्म पुगेको थियो।
हिन्दू धर्मप्रति आस्था राख्ने तथा विशेषगरी ‘हरे कृष्ण, हरे राम’ महामन्त्र जप्दै आध्यात्मिक साधनामा संलग्न सयौँ भक्तजन रथयात्रामा उत्साहपूर्वक सहभागी भएका थिए। रथयात्रामा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालसहित बेलायत र रसियाबाट आएका कृष्णभक्त तथा धर्मप्रचारमा सक्रिय विदेशी पाहुनाहरूको समेत उपस्थिति रहेको थियो।
रथयात्राका क्रममा भक्तजनहरूले भजन–कीर्तन, महामन्त्र जप तथा भगवान् श्रीजगन्नाथको दर्शन गर्दै धार्मिक उत्सवमा सहभागिता जनाएका थिए। चाबहिल, बौद्ध हुँदै जोरपाटीसम्मको यात्रामा भक्तिमय वातावरण बनेको थियो।
जोरपाटी इस्कोनका नारायण कृपा सिन्धु दासका अनुसार विगत १३ वर्षदेखि निरन्तर रूपमा भगवान् श्रीजगन्नाथको रथयात्रा आयोजना हुँदै आएको छ। उनले रथयात्राले धार्मिक आस्था, आध्यात्मिक चेतना र सामाजिक सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।










