काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियान सुरु भएको छ ।
अभियानअन्तर्गत आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित काठमाडौं उपत्यकामा उपलब्ध प्रतिनिधिहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सभापति गगन थापाले सम्बोधन गरेका छन् ।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा अभियानमा खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे सभापति थापाले अभिमुखीकरण दिएका हुन् ।
काठमाडौं उपत्यका बाहिर रहेका जनप्रतिनिधिहरूका लागि जुममार्फत भर्चुअल रूपमा कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाइएको छ ।
स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले आफूहरू सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन होस् भन्नेमा रहेको र यसका निमित तयार रहेको बताएका छन् ।
उनी भन्छन्, ‘सबैको सम्पति विवरण । हामी त थयार भयौं । २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै प्रत्येक मान्छेको सम्पति विवरण जाँचबुझ गर्ने । अहिलेसम्म अनुसन्धान भएर भनेर थन्काइएका जति पनि फाइल छन् त्यसको अनुसन्धान गर्ने । प्रत्येक कुरामा नेपाली कांग्रेस खुला छ । सरकारले गरोस् भनेर हामी माग राख्छौं ।’




