काठमाडौं, १८ साउन । काेलम्बिया र माेरक्काे नवाैँ संस्करणकाे फिफा महिला विश्वकप फुटबल २०२३ काे अन्तिम १६ मा पुगेका छन् ।
आज बिहीवार अस्ट्रेलियाकाे एनआईबी स्टेडियममा भएकाे खेलमा माेरक्काेले काेलम्बियालाई १–० गाेलले हरायाे । माेरक्काेका लागि एनिसा लहमारीले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् । काेलम्बिया र माेरक्काे समान ६ अङ्कसहित पहिलाे र दाेस्राे स्थानमा रहँदै समूह ‘एच’ अन्तिम १६ मा पुगेका हुन् ।
यस्तै यही समूहकाे अर्काे खेलमा दक्षिण काेरियासँग १–१ गाेलकाे बराबरी खेल्दै जर्मनी समूह चरणबाटै बाहिरिएकाे छ । दुई पटककाे च्याम्पियन जर्मनी पहिलाे पटक विश्वकप फुटबलकाे समूह चरणबाटै बाहिरिएकाे हाे । जर्मनी ४ अङ्कसहित तेस्राे स्थानमा रहँदा दक्षिण अफ्रिका १ अङ्कसहित पुछारमा रह्याे ।
याे संस्करणकाे विश्वकपमा जर्मनीसहित, ब्राजिल, अर्जेन्टिना, पाेर्चुगललगायतका बलिया टिम समूह चरणबाटै बाहिरिए । अब पर्सि शनिवारदेखि नकआउट चरणका खेल शुरु हुनेछ ।
नकआउट चरणमा स्विट्जरल्यान्डले स्पेनसँग, जापानले नर्वेसँग, नेदरल्यान्ड्सले दक्षिण अफ्रिकासँग, स्विडेनले अमेरिकासँग, इङ्ग्ल्यान्डले नाइजेरियासँग, अस्ट्रेलियाले डेनमार्कसँग, कोलम्बियाले जमैकासँग र फ्रान्सले मोरक्कोसँग खेल्नेछन् ।





