दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले निगमको दौड कार्यक्रम

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २२ । नेपाल आयल निगमले दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले १० किलोमिटर दौड आयोजना गरेको छ ।

आयल निगम हवाई इन्धन डिपोले शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा दौड आयोजना गरेको हो । निगमका कर्मचारी, निजी क्षेत्रलगाएत सहभागी दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम भएका छन् । पुरुषतर्फ १० किलोमिटर दौडमा भण्डारी ५३ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै प्रथम भएका हुन् । दिगम्बर पन्त दोस्रो र मनोजकुमार दास तेस्रो भए । पन्तले ५४ मिनेट ४६ सेकेन्ड र दासले ५६ मिनेटमा निर्धारित दूरी पार गरे ।

महिलातर्फ पाँच किलोमिटर दौडमा प्रथम भएकी सापकोटाले ३२ मिनेट नौ सेकेन्डमा दूरी पार गरिन् । शर्मिला कटुवाल दोस्रो र राजकुमारी राई तेस्रो भए । कटुवालले ३३ मिनेट ३९ सेकेन्डमा उक्त दूरी पार गरिन् । निर्धारित दूरी पार गर्न राईले ३५ मिनेट ४९ सेकेन्ड लगाइन् ।

विजेता खेलाडीलाई निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अन्तर्राष्ट्रिय धावक वैकुण्ठ मानन्धरले मेडल प्रदान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी