इटहरी गोल्डकप : भारतीय टोलीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

४ वैशाख, काठमाडौं । सुनसरीको इटहरीमा जारी १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको अन्तिम क्वार्टर फाइनल खेलमा जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति सम्पन्न खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) लाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा पुग्न सफल भएको हो ।

बुढासुब्बा गोल्ड कपको हालैको च्याम्पियन समेत रहेको प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले दुई तथा धिरेन्द्र शाहले एक गोल गरेका छन् ।

खेलको पाँचौँ मिनेटमा युकेएफसीका दिवस रोयले धिरेन्द्र शाहलाई डी–एरियामा लडाएपछि फिफा रेफरी उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल्टीको अवसर दिएका थिए । उक्त अवसरलाई कप्तान फागुरामले सहजै गोलमा परिणत गरे ।
२३औँ मिनेटमा फागुरामले विपक्षी गोलकिपरलाई बिट गर्दै व्यक्तिगत दोस्रो गोल गरे ।

यस्तै २७औँ मिनेटमा डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै धिरेन्द्रले गोल थपेपछि प्लानिङ ब्वाइजले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।

खेलको ५९औँ मिनेटमा युकेएफसीका निवास राणाले एक गोल फर्काए पनि टोलीको हार टार्न पर्याप्त भएन ।

उत्कृष्ट प्रदर्शन गरेका फागुराम थारु खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो सेमिफाइनल खेलमा युवा समाज र साबिक विजेता मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

आगामी वैशाख ७ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्