गृहमन्त्री गुरुङले सुरक्षा प्रमुखहरूसँग ५ घण्टा के विषयमा छलफल गरे ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

बैशाख ९ काठमाडौँ । सिंहदरबारमा मङ्गलवार गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र आईजीपी दानबहादुर कार्की सहितका उच्च सुरक्षा अधिकृतहरूसँग करिब ५ घण्टा छलफल गरे । साँझ ६ बजे सुरु भएको छलफलबाट सचिव श्रेष्ठ राति ९ बजे बाहिरिएका थिए । तर, आईजीपी कार्की र केही उच्च सुरक्षा अधिकृतहरू बाहिरिँदा झन्डै ११ बजेको थियो ।

छलफलमा काठमाडौँका सीडीओ ईश्वरराज पौडेल र सशस्त्रका आईजी राजु अर्याल पनि सहभागी थिए । गृहमन्त्री गुरुङले सुरक्षा अधिकारीहरूसँग सुरुमा माइतीघरमा अनसनरत सोभा पाठकको इस्युमा छलफल गरे । आफूलाई बलात्कार गर्ने पुरुषलाई पक्राउ गर्नुपर्ने र मुद्दा अदालतमा लैजानुपर्ने माग राख्दै पाठक वैशाख ३ देखि माइतीघर मण्डलामा आमरण अनसन बसिरहेकी छन् । वैशाख ५ मा मन्त्री सुधन गुरुङले मण्डलामा पुगेर उनलाई भेटेर ‘सान्त्वना’ दिएका थिए ।

बैठकमा सहभागी एकजना उच्च सुरक्षा अधिकृत भन्छन्, ‘शोभा पाठकको अनसनको इस्यु संवेदनशील भएको हुनाले त्यसमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको छ ।’ स्वास्थ्यमा समस्या आएपछि पाठकलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल सहितका विरुद्ध चलिरहेको सम्पत्ति शुद्धीकरण मुद्दा र त्यसमा ‘कनेक्टेड’हरुलाई कसरी अनुसन्धानको दायरामा ल्याउन सकिन्छ भन्नेबारे उनले चासो राखेका थिए । भट्ट र अग्रवालमाथिको अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरिरहेको छ । गृह मन्त्रालय र सुरक्षा निकायको लागि आवश्यक बजेटबारे पनि छलफल भएको अधिकृतहरू बताउँछन् । छलफलमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले भने, ‘लामो छलफल सुशासन र सेवा प्रवाहमा केन्द्रित थियो ।’

काठमाडौँ उपत्यका सहित देशभर ट्राफिक व्यवस्थापन कसरी सुधार गर्ने र दुर्घटना न्यूनीकरण गर्नेबारे पनि मन्त्री गुरुङले छलफल गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्