खुल्यो इरानको खुमेनी विमानस्थल, सुचारू भए अन्तर्राष्ट्रिय उडान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१२ वैशाख, काठमाडौं । अमेरिका र इजरायलको हमलाका कारण झन्डै दुई महिनादेखि बन्द रहेको इरानको हवाई सेवा फेरि सुचारू भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता अवधि बढाएको घोषणा गरेसँगै शनिबार इरानबाट अन्तर्राष्ट्रिय उडान पनि सुचारू भएका छन् ।

बीबीसीका अनुसार इरानको राजधानी तेहरानमा रहेको इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानैदेखि अन्तर्राष्ट्रिय उडान भएका छन् । त्यहाँबाट पश्चिम एसियाका कैयौं सहरमा उडान भएको इरानी मिडियालाई हवाला दिँदै बीबीसीले समाचार लेखेका छन् ।

तेहरानबाट उडान भएका सहरमा साउदी अरेबियाको मदिना, ओमानको मस्क, टर्कीको इस्तानबुल सामेल छन् ।

अमेरिका र इरानले २८ फेब्रुअरीमा इरानमाथि हमला गरेका थिए । इरानको सम्पूर्ण हवाई सेवा अवरुद्ध थियो । त्यसयता ५६ दिन तेहरानका लागि सबै अन्तर्राष्ट्रिय उडान निलम्बित थिए ।

८ अप्रिलमा पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान दुवैले दुई हप्ताका लागि युद्धविरामको सहमति जनाएका थिए । सोही क्रममा पाकिस्तानको राजधानी इस्लामावादमा दुवै देशका वार्ताकारले शान्तिवार्ता गरेका थिए । तर, शान्तिवार्ता सफल हुनसकेन् ।

८ अप्रिलको युद्ध विराम सहमति अप्रिल २१ मा सकिएको थियो । त्यसपछि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामको अवधि बढाएको घोषणा गरेका छन् ।

यसैबीचमा शनिबार इरानका विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको भ्रमणमा छन् । उता अमेरिकी प्रतिनिधिमण्डल पनि पाकिस्तानमा रहेको विभिन्न रिपोर्टले जनाएका छन् ।

तर, अर्को चरणको शान्तिवार्ताको भने अहिलेसम्म कुनै टुंगो लागिसकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्