१४ बैशाख,काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा नयाँ आँखा उपचार सेवा सुरु गरिएको छ।
गोकर्णेश्वर नगरपालिका–६, जोरपाटी नारायणटारमा त्रिपुरेश्वर आँखा अस्पताल र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ‘गोकर्णेश्वर आँखा उपचार केन्द्र’ सञ्चालनमा आएको हो।
उक्त केन्द्रको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले आफ्नै आँखा परीक्षण गराउँदै गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयर रिसालले नगरवासीका लागि सहज र सुलभ रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको बताए।
उनका अनुसार नगरवासीहरूले नागरिकता, जन्मदर्ता वा मतदाता परिचयपत्रका आधारमा दर्ता शुल्कमा छुट पाउनेछन्। साथै, मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया तथा ज्येष्ठ नागरिकलाई २०० रुपैयाँमा चस्मा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
यसअघि गोकर्णेश्वर–१ स्थित पाथीभरा प्रहरी स्वास्थ्य केन्द्रमा पनि आँखा उपचार सेवा उपलब्ध हुँदै आएको थियो। अब नगरभित्र रहेका ११ वटा स्वास्थ्य केन्द्रमा कम्तीमा महिनामा एक दिन आँखा शिविर सञ्चालन गरिनेछ। साथै विद्यालयहरूमा घुम्ती आँखा शिविर पनि सञ्चालन गरिने योजना रहेको छ।
मेयर रिसालका अनुसार आगामी वर्षदेखि नगरवासीले ५० हजार रुपैयाँसम्मको आँखा उपचार सेवा निःशुल्क पाउने गरी स्रोत व्यवस्थापन गरिएको छ।
उद्घाटन कार्यक्रममा गोकर्णेश्वर–५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नारायणबहादुर सुवेदी, प्रमुख प्रशासकीय अधिकृत यामनारायण कौरी, त्रिपुरेश्वर आँखा अस्पतालका प्रतिनिधिहरू लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।





