स्वास्थ्य सेवामा गोकर्णेश्वरको अर्को छलाङ : काठमाडौं मेडिकल कलेज र गोकर्णेश्वर नगरपालिकाबीच सहुलियत सेवासम्बन्धी सम्झौता (तस्विरहरु)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१७ वैशाख, काठमाडौं । भक्तपुरको चांगुनारायण नगरपालिका क्षेत्रमा अवस्थित काठमाडौं मेडिकल कलेज (KMC) र काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिकाबीच स्थानीय बासिन्दालाई सहुलियत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको छ।

सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्ने बिरामीले काठमाडौं मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न सेवा तथा उपचारमा छुट सुविधा पाउनेछन्। अस्पतालमा आउने बिरामीलाई प्राथमिकताको आधारमा सेवा दिइने व्यवस्था समेत गरिएको छ।

सम्झौतामा उल्लेख भएअनुसार ओपीडी कार्ड निःशुल्क उपलब्ध गराइनेछ भने जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, ओटी सेवा, ल्याब जाँच, एक्स-रे, सिटी स्क्यान, एमआरआई, ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी, विभिन्न डायग्नोस्टिक परीक्षण, फिजियोथेरापी तथा दन्त उपचार लगायतका सेवामा करिब २५ प्रतिशतसम्म छुट दिइनेछ।

यस्तै, क्याथ ल्याब सेवाहरू (एन्जियोग्राम, एन्जियोप्लास्टी आदि) मा पनि २५ प्रतिशत छुट रहनेछ। तर स्टेन्ट, गाइड वायर, बलुन जस्ता सामग्री तथा ट्रान्सप्लान्ट सेवामा भने छुट लागू नहुने उल्लेख गरिएको छ।

सम्झौता कार्यान्वयनका लागि नगरपालिकाबाट सिफारिस गरिएका विपन्न नागरिकले तोकिएको प्रक्रिया अनुसार फारम भरी सेवा लिनुपर्ने व्यवस्था गरिएको छ। साथै, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई प्राथमिकतामा राखी उपचार गरिने पनि जनाइएको छ।

यो सम्झौता निश्चित अवधिसम्म लागू हुने र आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा परिमार्जन तथा नवीकरण गर्न सकिने उल्लेख छ। प्रत्येक ६ महिनामा यसको समीक्षा गर्ने प्रावधान समेत राखिएको छ।

सम्झौतामा पहिलो पक्षका तर्फबाट प्रशासनिक प्रबन्धक अर्चना थापा र जनसम्पर्क प्रमुख सुशा कट्टेल (केबिना) ले हस्ताक्षर गरेका छन् भने दोस्रो पक्षका तर्फबाट नगर प्रमुख दीपक कुमार रिसाल र नगर स्वास्थ्य प्रमुख हरि उपाध्यायले हस्ताक्षर गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी