३० वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी स्थापनाको दिनको अवसर पारेर पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले अगामी असार ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । पूर्वसञ्चारकर्मी रवि लामिछानेले २०७९ साल असार ७ गते रास्वपा घोषणा गरेका थिए ।
स्थापना कालमा रविले आफ्नै नेतृत्वमा २१ जना केन्द्रीय समिति घोषणा गरेका थिए । पार्टी स्थापना गरेको पाँच महिनामै प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको रास्वपाले ११ लाख ३० हजार लोकप्रिय मत सहित २१ सिट जितेको थियो ।
पार्टी स्थापना भएको चार वर्ष पुरा नहुँदै गत फागुनमा २१ मा भएको निर्वाचनमा ५१ लाखभन्दा बढी लोकप्रिय मत सहित दुई तिहाइ नजिक अर्थात् १८२ सिट जितेको थियो ।





